Logo
७ बैशाख २०८१, शुक्रबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिल्लीका मन्दिरहरूमा नेपाली पुजारीहरूको हैसियत पनि पशुपतिका भट्टभन्दा कम भने छैन

नयाँदिल्ली : विश्भरका हिन्दुहरूको प्रमुख तीर्थस्थल नेपाल स्थित पशुपतिनाथ मन्दिरमा दक्षिण भारतीय भट्टहरूको सान र मानसँग प्राय: सबै नेपाली परिचित छन् । तर, भारतको राजधानी नयाँदिल्लीका मन्दिरहरूमा नेपाली पुजारीहरूको हैसियत पनि पशुपतिका भट्टभन्दा कम भने छैन ।

यकिन तथ्यांक नभए पनि नयाँदिल्ली र आसपास क्षेत्रका मन्दिरमा सयौं नेपाली पुजारी छन् । कतिपय मन्दिरमा त मूल पुजारीमात्र होइन सहायकसमेत नेपाली छन् । विशेषगरी जनकपुरी, विकासपुरी, रोहिणी, प्रितमपुरा, शालिमार बाग, पश्चिम विहार, इन्द्रपुरी, रजौरी गार्डेन, मायापुरीका मन्दिरमा नेपाली पुजारीकै बोलवाला छ । यसबाहेक दिल्ली आसपासका हिसार, गुडगाँवमा पनि उल्लेख्य संख्यामा नेपाली पुजारी छन् ।

नेपाली पुजारीको संख्या मात्र बढी छैन, उनीहरूप्रतिको सम्मान र वैभव पनि लोभलाग्दो छ । तिनैमध्येका हुन्, रामपुर, पाल्पाका एकराज खनाल । खनाल २० वर्षदेखि करोलबागको गंगेश्वर धाममा मुख्य पुजारी छन् । यस धामका अन्य विभिन्न सहरहरूमा पन्ध्रभन्दा बढी आश्रम छन् । हरिद्वार, वृन्दावन, अमृतसर, मुम्बईलगायत । विद्यालय, गुरुकुल, अस्पताल, गौशाला यसले सञ्चालन गरेको छ ।

२०४० देखि २०४३ सम्म ललितपुरको शान्तभवनस्थित महर्षि योगी आश्रममा बसेर गरेको संस्कृत अध्ययनले खनाललाई दिल्लीतर्फ मोड्यो । २०४३ सालमा दिल्ली पुगेर मोतीनाथ संस्कृत महाविद्यालयमा अध्ययन गरेका खनाल एकजना साथीमार्फत गंगेश्वर धाम पुगे । पछि त्यहींका पुजारी भए ।

दिल्लीको शास्त्रीनगरस्थित संन्यास आश्रम र शिवमन्दिरका पुजारी हुन्, रामचन्द्र सापकोटा (४४) । मन्दिरमा उनीसँगै दाजु प्रेमनारायण सापकोटा र पाल्पाका नोल भट्टराई (४३) पनि छन् । बर्दघाट, नवलपरासीका राजु बगाले पुजारी छन् । प्रेमनारायण त मुख्य पुजारी नै हुन् । प्रेमनारायण करिब २२ वर्षअघि आएका हुन् । गढवाल घर भएका महामण्डलेश्वर केशवानन्द गुरुले नै प्रेमलाई मन्दिरमा पुजारी नियुक्त गरिदिए । त्यसपछि यस आश्रममा नेपाली पुजारीका लागि बाटो खुलेको रामचन्द्रले बताए । उनी आश्रममा बसेकै १२ वर्ष बितिसक्यो ।

पुख्र्यौली पूर्व खोला, पाल्पा घर भएका कपिलचन्द्र शर्मा पन्थी ३२ वर्षदेखि पश्चिम विहारको दुर्गा मन्दिरमा पुजारी छन् । उनीसँगै अन्य दुई पुजारी पनि नेपाली नै छन्– रामचन्द्र शास्त्री र गोविन्द आचार्य । शास्त्री त प्रमुख पुजारी नै हुन् । गाउँकै स्कुलमा सात कक्षा पढदै गरेका १३ वर्षीय शर्मा आफ्नै भिनाजुका पछि लागेर दिल्ली आए ।

नयाँदिल्लीकै पश्चिम विहारस्थित भारतीय विद्यापीठमा अध्ययन गर्न थाले । र, यसैबीच दुर्गामन्दिरमा पुजारीको पद खाली भयो र उनले मौका पाए । त्यसपछि बनारसबाट कर्ममाण्डमा शास्त्री गरे । पढाइ सकेर फेरि दुर्गामन्दिरमै फर्किए । त्यतिबेलासम्म उनले स्थानीय रूपमा कुन विषयको बढी आवश्यकता छ भन्ने बुझिसकेका थिए । त्यसैले ज्योतिषमा आचार्य अध्ययन अगाडि बढाए । ‘कर्मकाण्डका लागि ज्योतिष अनिवार्य नै रहेछ भन्ने लाग्यो र त्यसको अध्ययन गर्ने निर्णयमा पुगें,’ उनले विगत सम्झिए । त्यसो त बुवा आफैं कर्मकाण्डका पुजारी भएकाले कपिललाई पूजापाठको जानकारी थियो ।

अर्का नेपाली पुजारी बर्दियाका षडानन्द शास्त्री दिल्लीकै नजवगढमा रहेको खाटुश्याम मन्दिरमा १० वर्षदेखि मूल पुजारी छन् । उनका सहायक पुजारी पनि नेपाली नै छन् । गुठीबाट सञ्चालित यस मन्दिरमा शास्त्रीभन्दा अघि पनि चितवनका लक्ष्मी पराजुली थिए । पराजुलीले आफू नेपाल फर्कनुअघि शास्त्रीलाई राखेर गए । अरू पुजारीको जस्तै उनको दिन पनि व्यस्ततामै बित्छ । सबेरैदेखि अबेरैसम्म । मन्दिरको नियमित कर्मबाहेक उनलाई नियमितजसो जजमानीका लागि बोलाउने परिवारहरूको संख्या पनि ठूलै छ ।

दिल्लीकै विश्वास नगरमा रहेको पशुपतिनाथ मन्दिरले काठमाडौंकै पशुपतिको झल्को दिन्छ । चार ढोका र मूर्ति उस्तै छन् । २० वर्षदेखि यो मन्दिरको रेखदेख गर्ने पुजारी छन् स्याङ्जा वालिङका ७० वर्षीय विष्णुशरण कोइराला । सन् १९७० को महाशिवरात्रिको दिन त्रिशूल र ढुंगा राखेर शिलान्यास गरिएको यो मन्दिरलाई पूर्णता दिन कोइराला र अन्य नेपालीहरूको विशेष भूमिका रह्यो । दिल्लीमै बस्दै आएका जेबीसिंह खडकाले त मन्दिरका लागि जग्गा नै दिए । मूर्तिका लागि सन् १९७६ मा नेपाल राजदूतमार्फत तत्कालीन राजा वीरेन्द्रलाई निवेदन दियो मन्दिर निर्माण समितिले ।

काठमाडौंबाट आएको मूर्ति त्यही वर्ष शिवरात्रिमै प्रतिस्थापन गरियो । सन् १९८५ मा दूतावासमार्फत सरकारले तीन लाख रुपैयाँ पठायो । मन्दिर परिसरमै आठ कोठाको धर्मशाला पनि बनाइएको छ । शिवरात्रि, तीज, जन्माष्टमीमा विशेष कार्यक्रम हुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंको पशुपतिनाथको दर्शन गरेका कारण पछिल्लो समय मन्दिरमा स्थानीय भक्त बढेको अनुभव गरेका छन् कोइरालाले ।

नेपाली पुजारीहरूले यहाँ पाउने प्रत्यक्ष आर्थिक लाभभन्दा सम्मान कैयौं गुणा बढी छ । यो सम्मान नेपाली भनेर नभई पुजारी भनेरै पाएको उनीहरूको अनुभव छ । सबैले यही पेसाबाट घरखर्चमात्र धानेका छैनन् छोराछोरीलाई अब्बल शिक्षासमेत दिएका छन् । विधिविधान अनुसरण गर्ने र अनुशासित हुने भएकाले नेपाली पुजारीप्रति बेग्लै सम्मान रहेको पुजारीहरूको भनाइ छ । पुजारी कपिलचन्द्र पन्थी नेपाली भनेर विभेदको सामना गर्नु नपरेको बरु भारतीय पुजारीको तुलनामा बढी सम्मान पाउने गरेको बताउँछन् ।

तलब नाममात्रको हुन्छ । हजारदेखि दुई हजारसम्म । आम्दानीको मुख्य स्रोत भक्तहरूले दिने व्यक्तिगत दानदातव्य र जजमानीबाट हुने कमाइ नै हो । पुजारी खनालका छोरा बीबीए सकेर एमबीए पढ्ने तयारी गर्दैछन् भने छोरीले बीबीए गर्दैछिन् । उनले बुटवलको सुख्खानगरमा तीनतले घर पनि बनाएका छन् ।

पन्थीको पुरै परिवार दिल्लीमा बस्छ । पन्थीका दुई छोरामध्ये एकजना एमबीए अध्ययनरत छन् भने अर्काले जागिर गर्छन् । षडानन्द शास्त्रीले पनि छोराछोरीलाई राम्रै शिक्षा दिलाएका छन्  भन्दै कान्तिपुरमा खबर छ । कर्मथलो दिल्ली भए पनि सबैको मन भने गाउँघरमै छ । सबैको एउटै लक्ष्य छ, छोराछोरीको पढाइ सकाउने, बिहेदान गराउने र घरमा बन्दोबस्ती मिलाएपछि आफ्नै गाउँ फर्कने । शास्त्रीले छोराछोरीको पढाइ सक्ने, घर बनाउने अनि त्यसपछि फर्कने योजना रहेको बताए । उनले भने, ‘जतिसुकै सुविधा भए पनि आखिर मन त नेपालमै छ ।’

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्