Logo
१३ बैशाख २०८१, बिहीबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयरको उपस्थितिमा जनकपुरमा एक वडाध्यक्षको घरमा डोजर चल्यो, ज्यादती गरेको आरोप

जनकपुरधाम : जनकपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष प्रमेश्वर साहको घरमाथि डोजर चलाइएको छ । जनकपुरको पीडारीचोक र थापाचोकको बिचमा रहेको वडाध्यक्ष साहको घरमाथि आईतवार विहान डोजर चलाइएको हो । वडाध्यक्ष लगायत त्यहाँका अन्य ४।५ जनाको सडकमा पर्ने घरको भाग डोजर लगाएर तोडिएको छ । उपमहानगरपालिकाले सडकमा परेको वडाध्यक्षको घर तोड्न पटक/पटक आग्रह र परिपत्र समेत गर्दा नतोडेपछि डोजर चलाएर तोडिएको मेयर लालकिशोर साहले बताउनुभयो ।

जनकपुरमा एसियाली विकास बैंकको सहयोगमा जारी एकीकृत सहरी विकास परियोजना अन्तर्गत भइरहेको सडक निर्माण एवं विस्तारको काममा वडाध्यक्षले घर नतोडेपछि तीन महिनादेखि अवरोध भएको भन्दै डोजर लगाएर तोडिएको मेयर साहको भनाई छ । नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित प्रमेश्वर साहको घर आईतवार विहान ९ बजे व्यापक प्रहरीको उपस्थितिमा डोजर लगाएर तोडिएको हो ।

वडाध्यक्ष प्रमेश्वरले सडकमा परेको आफ्नो घरको भाग नतोड्दा जनकपुरको पीडारीचोक र थापाचोकको बिचमा पर्ने अन्य ४।५ जनाले घर तोड्न नमानेपछि त्यहाँ सडक निर्माणको काम अवरुद्ध भएको मेयर साहको तर्क छ । घर तोड्ने क्रममा वडाध्यक्ष प्रमेश्वर साहसहित परिवार घर अगाडी अवरोध गरेपछि प्रहरीले धडपक र दुरव्यवहार समेत गरेका छन् । वडाध्यक्षसहित उहाँकी पत्नी चाँदा साह, दाई लालबाबु साह र भान्जा वसन्त साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले तीन घण्टा हिरासतमा राखेर छोडेको छ ।

अगामी ५ डिसेम्बर २०१८ सम्म मात्र म्याद रहेको जारी एडीबी परियोजनाको काम पीडारीचोकमा वडाध्यक्षको घरले अवरोध भएको भन्दै केहि स्थानीयहरुले पटक पटक सडक अवरुद्ध गर्ने गरेका थिए । केहि दिन अघि मेयर लालकिशोरलाई स्थानीयहरुले घेराबन्दी समेत गरेका थिए । आईतवार विहान समेत त्यहाँका केहि स्थानीयहरुले तेश्रो पटक वडाध्यक्ष साहको घर तोड्नु पर्ने र सडक निर्माणको काम गर्नुपर्ने भन्दै चक्कजाम गरेका थिए ।

चक्कजाम खोलाउन पुगेका मेयर लालकिशोर र उपमेयर रिता झालाई घर अहिले नै तोड्नु पर्ने स्थानीयले दवाव दिएपछि प्रहरीको सहयोगमा एकाएक घरमाथि डोजर भिडाएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । जनकपुरको अन्य दुई तीन स्थानमा अवरोध भएको र त्यसको कारणले सडक निर्माण र विस्तार जस्ता विकासको काममा ढिलाई भएकाले अव त्यस्ता घरमाथि पनि डोजर भिडाइने मेयर साहले चेतावनी दिनुभयो । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर र उपमेयर रीता झा राजपा नेपालबाट निर्वाचित प्रतिनिधि हुन् ।

मेयरको गलत क्रियाकलापको विरोध गर्दा सडकमा नभएको मेरो घरमाथि डोजर लगायो : वडाध्यक्ष साह
यता वडाध्यक्ष प्रमेश्वर साहले आफ्नो घर सडकमा नपरेको दावी गर्दै मेयर लालकिशोरले पूर्वाग्रही र रिसीइवी साध्न तोडेको आरोप लगाउनुभयो । २०७० सालमा भएको साढे ५२ फिट सडक नापीमा आफ्नो घर नपरेको बताउँदै वडाध्यक्ष प्रमेश्वरले भन्नुभयो ‘ एकाएक मेरो घरमाथि डोजर भिडायो, रोक्न खोज्दापुरा परिवार माथि नै प्रहरी लगाएर ज्यादती गर्यो , अन्याय गर्यो । पक्राउ गरेर प्रहरी हिरासतमा राखियो । ’

सुरुदेखि नै मेयर लालकिशोरको गलत क्रियाकलापको विरोध गर्दा यस्तो दुर्दशा भोग्नु परेको र आफ्नो घरसमेत त्यहि कारणले तोडेको वडाध्यक्ष प्रमेश्वरले आरोप लगाउनुभयो ।

मेयर लालकिशोरले भारतीय प्रधानमन्त्रीको मोदी भ्रमणको नाममा बाह्रविघा मैदानको भित्ता पेन्टिंग, जानकी मन्दिरको रंगरोगनको नाममा लाखौं भ्रष्टाचार गरेको, नगरपालिका कार्यालयमा आफन्त नातागोतालाई जागिर दिएको र डेढ करोडको गाडी किनेर चढेको लगायतको कुराहरुको विरोध गर्दा पहिलादेखि नै मेयरले आफ्नो घर तोडिदिने धम्की दिने गरेको वडाध्यक्ष प्रमेश्वरको आरोप छ ।

उहाँले आफुमाथि भएको ज्यादतीको विषयमा छानविन समिति गठन गरेर निष्पक्ष छानविन गर्नुपर्ने माग गर्नुभएको छ । दोषी जो कोहिमाथि कार्वाही हुनेपर्ने माग गर्दै वडाध्यक्ष साहले आफु मेयरको ज्यादती विरुद्ध कानुनी उपचारमा समेत जाने बताउनुभयो ।

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्