Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि डिभीको फारम खुल्दै : यस्तो छ आवेदन भर्दा नयाँ नियम

काठमाडौँ : अमेरिकामा स्थायी बसोबासको अनुमति पाउने माध्यमका रुपमा रहेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा, डिभी को आवदेन बुधबारदेखि खुला हुँदैछ । नेपाली समय अनुसार बुधबार राति पौने १० बजेदेखि डिभीको फारम भर्न सकिने छ । आउँदो कात्तिक २० गते राति पौने ११ बजे भित्र फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

यसपटक डिभी भरेर छनौट हुनेहरुले सन् २०२० मा अमेरिका जान पाउने छन् । फारम भर्नका लागि आधिकारिक वेब साइट http://www.dvlottery.state.gov मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नु पर्नेछ ।

यस्तो छ आवेदन भर्दा नयाँ नियम

सन् २०२० को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि नयाँ आवेदन अक्टोबर ३, २०१८ (२०७५ असोज १७) बाट सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासद्वारा बुधबार जारी वक्तव्यमा नोभेम्बर ६, २०१८ (२०७५ कात्तिक २०) सम्म आवेदन भर्न सकिने जनाइएको छ।

दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ। उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ। साथै अमेरिकी दूतावास तपाईंहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ।आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईं स्वयम् जिम्मेवार रहनुहुनेछ।’

यस्तै २०२० को डाइभर्सिटी भिसा कार्यक्रमका हकमा एक नयाँ नीतिगत परिवर्तन गरिएको जनाउँदै दूतावासले मुख्य आवेदकले अयोग्य पति र पत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अबदेखि अयोग्य ठहरिने उल्लेख गरेको छ। यसैगरी एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिने समेत वक्तव्यमा उल्लेख छ।

अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा पनि अयोग्य ठहरिने जनाउँदै दूतावासले फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नुपर्ने र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नुपर्ने जनाइएको छ।

यस्तै फोटो खिच्दा आवेदकहरूले चश्मा वा टोपी लगाउनु नहुने समेत वक्तव्यमा जनाइएको छ। यसको नतिजा २०७६ वैशाख २४ मा आफ्नो कन्फर्मेसन नम्बर www.dvlottery.state.gov मार्फत हेर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति: Oct 3, 2018

प्रतिक्रिया दिनुहोस्