Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एउटा फोनमा भएको नम्बर अर्को फोनमा सार्ने तरिका

काठमाडौं : एउटा मोबाइलमा भएको फोन नम्बर अर्कोमा सार्न धेरैलाई कठिन लाग्छ । प्रायः नयाँ मोबाइल किन्दा पुरानो मोबाइलको नम्बर सार्नुपर्ने हुन्छ । यो अवस्थामा एक–एक नम्बर गर्दै फेरि टाइप गर्नुपर्ने झन्झट अधिकांशले बेहोरेका होलान् । हजारौं नम्बर यसरी एउटा मोबाइलबाट अर्कोमा सार्नु वास्तवमै सजिलै छैन ।

धेरैजसोले फोन हराएपछि वा नयाँ फोन किनेपछि साथीभाइको फोन नम्बर नभएको गुनासो गर्छन् । त्यसैले दशैं वा नयाँवर्षको आसपासमा सामाजिक सञ्जालमा फोन नम्बर पठाइदिन खुलमखुला आह्वान पनि गर्छन् । पुरानै साथीले मोबाइलबाट दशैंको शुभकामना दिन खोज्दा पनि को बोलेको भनेर प्रश्न गरिन्छ । यस्तो बेला शुभकामना दिने मूड नै बन्दैन । वास्तवमा फोन फेरेपछि वा हराएपछि फोन नम्बर पनि हराउने भन्ने हुँदैन । यसलाई रिकभर गर्न सकिन्छ वा सुरक्षित गर्न सकिन्छ । अहिलेको प्रविधिमय संसारमा फोन नम्बर उड्यो भन्दा हासोको पात्र बनिन्छ । त्यसैले, हरेक स्मार्टफोन प्रयोगकर्ताले फोन नम्बर सुरक्षित गर्न केही उपाय जानिराख्नुपर्छ ।

कतिपय भन्छन्, ‘पहिला एण्ड्रोइड चलाउँथे, अहिले आईओएसमा गएकाले फोन नम्बर सार्न सकिनँ ।’ साथै, आईओएस चलाउन झन्झट लागेर एण्ड्रोइड फोन लिएकाले फोन नम्बर गुमेको बताउनेहरू पनि धेरै हुन्छन् । त्यसैले, प्रविधिका विज्ञहरू स्मार्टफोन बोक्दैमा स्मार्ट नबनिने धारणा राख्छन् । स्मार्ट बन्नु–नबन्नु एउटा बुझाइ होला, तर आफ्नो सजिलोका लागि फोन नम्बरलगायत सुरक्षित राख्नु महत्त्वपूर्ण हुन्छ ।

तर, एउटा मोबाइलमा राखिएका नम्बर तुरुन्तै अर्कोमा पठाउने सजिला तरीका पनि छन्, जसबारे यहाँ चर्चा गरिएको छ :

एण्ड्रोइड डाटा रिकभरी
फोनबाट डाटा डिलिट हुने गल्ती जो कसैबाट हुने गर्छ । विभिन्न पक्षमा ध्यान नपु¥याउँदा कहिले फोटो, सन्देशलगायत सामग्री नष्ट हुन पुग्छन् । यस्तोमा ठूलो समस्या त त्यति बेला हुन्छ, जब पूरै कण्ट्याक्ट लिष्ट नै हराउँछ । यस्तो हुँदा साथीभाइ र आफन्तसँग नम्बर माग्ने विकल्पतिर लाग्नुपर्ने हुन्छ । तर, केही यस्ता कण्ट्याक्ट हुन्छन्, जुन निकै आवश्यक भएर पनि पुनः पाउन कठिन हुन्छ ।

यस्तो अवस्थामा कण्ट्याक्ट लिष्टको पुनःस्थापना अपरिहार्य हुन्छ । तर, एण्ड्रोइड फोनबाट डिलिट भइसकेका कण्ट्याक्ट पुनःस्थापना गर्ने उपाय भने धेरैलाई थाहा हुँदैन । कण्ट्याक्ट लिष्ट पुनःस्थापना गर्न कठिन भए तापनि असम्भव भने छैन । डिलिट भइसकेका कण्ट्याक्ट लिष्ट कसरी रिकभर गर्न सकिन्छ ।

फोनबाट डिलिट भइसकेका कण्ट्याक्ट लिष्ट रिकभर गर्न सर्वप्रथम एण्ड्रोइड डाटा रिकभरी सफ्टवेयर डाउनलोड गर्नुपर्छ । तर, क्षमता भएका सफ्टवेयरका लागि भने केही शुल्क तिर्नुपर्छ । आफ्नो फोनमा एण्ड्रोइड डिभाइस म्यानेजर इन्ष्टल गरेपछि फोनलाई पर्सनल कम्प्युटर (पीसी)सँग जडान गर्नुपर्छ । यसपछि यूएसबी डिबगिङ अन गर्नुपर्छ । यसो गरेपछि आफ्नो उपकरण आइडेण्टिफाइड भए÷नभएको निक्र्योल गर्नुपर्छ । आइडेण्टिफाइड भएपछि स्क्यान प्रक्रिया शुरू गर्नुपर्छ ।

स्क्यान गरेपछि डिलिट भएका फाइलका बारेमा स्क्रीनमा जानकारी उपलब्ध हुन्छ । तीमध्ये आफूलाई आवश्यक पर्ने फाइलको छनोट गर्नुपर्छ । आफूलाई आवश्यक पर्ने फाइलमा क्लिक गरी सेलेक्ट गरेपछि नेक्ष्ट अप्शनमा क्लिक गर्नुपर्छ । अब भने अर्को स्क्रीनमा ‘अलो’ अर्थात् आज्ञा दिने अप्शनमा क्लिक गर्नुपर्छ ।

यति गरेपछि रातो र कालो रङमा फाइल प्रस्तुत हुन्छन् । यी रङमध्ये रातो रङका फाइल फोन मेमोरीबाट हटाइएका फाइल हुन् । तिनलाई सेलेक्ट गरी फोनमा पुनःस्थापना गर्न सकिन्छ ।

गूगल कण्ट्याक्टबाट सार्ने तरीका
एण्ड्रोइड स्मार्टफोन प्रयोग गर्नेले सबै फोन नम्बर गूगल कण्ट्याक्ट्स सेभ गरेमा अर्को मोबाइलमा सजिलै सार्न सकिन्छ । अधिकांश एण्ड्रोइड फोनका नम्बर गूगल कण्ट्याक्टमै सेभ हुन्छ । फोन नम्बर सार्न भने जीमेल आईडीसँग सिन्क गर्नुपर्ने हुन्छ । नयाँ फोनमा जीमेल आईडी ओपन गरेपछि सबै फोन नम्बर अटोमेटिक रूपमा उपलब्ध हुन्छ । जीमेल लगइन गर्न जति समय लाग्छ, उति समयमै सबै फोन नम्बर आइसकेको हुन्छ ।

सिमकार्डमार्फत
मोबाइलमा सेभ गरिएका फोन नम्बर गूगल अकाउण्टमा सिन्क गरिएको छैन भने यसलाई दुई तरीकाले अर्को फोनमा सार्नुपर्ने हुन्छ । सिमकार्डमा २ सय ५० ओटा नम्बर सेभ भएका हुन्छन् । फोन नम्बरहरू २ सय ५० भन्दा कम छन् भने यसलाई सहजै सार्न सकिन्छ । यसका लागि शुरूमा फोनको कण्ट्याक्ट्स एपमा जानुपर्छ । त्यसपछि मेन्यू आइकनमा थिचेर म्यानेज वा इम्पोर्ट÷एक्सपोर्टलाई सेलेक्ट गर्नुपर्छ । यद्यपि, कुनै स्मार्टफोनले अटोमेटिक इम्पोर्ट र एक्सपोर्टको अप्शन दिएको हुन्छ । त्यसपछि पप–अप विण्डोबाट एक्सपोर्ट टु सीम कार्ड सेलेक्ट गर्नुपर्छ । यस्तो गरेलगत्तै सबै कण्ट्याक्ट्स फोनको सिम कार्डमा आउँछ । त्यसपछि सिमकार्डलाई नयाँ फोनमा हाल्नेबित्तिकै फोन नम्बर आउँछ । अन्य नम्बर सार्नुपर्ने भए सिममा भएका नम्बरलाई नयाँ फोन एक्सपोर्ट गरेर खाली गर्नुपर्छ । त्यसपछि फेरि पुरानो फोनमा भएको नम्बर इम्पोर्ट–एक्सपोर्ट गर्दै नयाँ फोनमा सार्नुपर्छ । यसरी सबै कण्ट्याक्ट्स नयाँ फोनमा ल्याउन सकिन्छ ।

मेमोरी कार्डको प्रयोग
फोनमा एड्रेसबूकलाई भीसीएफ फाइलको रूपमा मेमोरी कार्डलाई एक्सपोर्ट गर्न सकिन्छ । त्यसपछि मेमोरी कार्डलाई नयाँ फोनमा राखेर कण्ट्याक्ट्सलाई त्यसमा इम्पोर्ट गदा सबै फोन नम्बर नयाँ फोनमा आउँछ ।

ब्लूटूथबाट
मोबाइलमा रहेका फोन नम्बर ब्लूटूथको माध्यमबाट पनि अर्को मोबाइलमा सार्न सकिन्छ । यसका लागि स्मार्टफोन हुनैपर्ने जरुरी रहँदैन । फोनमा ब्लूटूथ छ भने सबै कण्ट्याक्ट्स नम्बर सेलेक्ट गरेर सेड अप्शनबाट ब्लूटुथ सेलेक्ट गरी नम्बर पठाउन सकिन्छ ।

एप्समार्फत
एण्ड्रोइड स्मार्टफोनमा थर्ड पार्टी एप्सको मद्दतबाट पनि फोन नम्बर ट्रान्सफर गर्न सकिन्छ । गूगल प्ले स्टोरमा कण्ट्याक्ट ट्रान्सफर ब्याकअप एप्स हुन्छ । यसले मोबाइल नम्बरलाई ब्लूटूथ, वाईफाई, ईमेलबाट जस्तै गरी ट्रान्सफर गर्न सक्छ ।

आईफोनबाट एण्ड्रोइडमा
आईफोनबाट एण्ड्रोइडमा नम्बर सार्न आईक्लाउड एकाउण्ट हुनुपर्छ । हुन त आईफोन भएपछि आईक्लाउड हुने नै भइहाल्यो । नम्बर सान शुरूमा आईफोनको सेटिङमा जानुपर्छ । सेटिङमा एप्पल आईडी, आईक्लाउड, आईट्युन्सलगायत अप्शन देखिनेछन् । त्यहाँभित्र छिरेपछि आईक्लाउड अप्शनमा जानुपर्दछ । यसपछि देखिने विभिन्न बटममध्ये कण्ट्याक्ट बटन अन गर्नुपर्दछ । यसपछि आईक्लाउड ड्राइभ ब्याकअप बटनमा गई ब्याकअप गर्नुपर्छ ।

ब्याकअपलाई क्लिक गरेपछि फोनमा भएको कण्ट्याक्ट आइक्लाउडमा अपडेट हुनेछ । ब्याकअप कम्प्लिट भएपछि कम्प्युटरको प्रयोग गरी ब्राउजरमार्फत आइक्लाउड डट कम खोल्नुपर्छ । यहाँनेर आइक्लाउडको ईमेल आईडी र पासवर्ड हालेपछि विभिन्न अप्शन देखिनेछन् । आउक्लाउड आईडी लगइन भएपछि कण्ट्याक्ट अप्शन पनि देखिनेछ । अब कुनै कण्ट्याक्ट नाममा क्लिक गरेपछि त्यहाँनेर अप्शन देखिनेछन्, जसमध्ये अल सेलेक्ट गर्नुपर्दछ । अल सेलेक्ट भएपछि इम्पोर्ट/एक्स्पोर्टको अप्शन देखिनेछ । यहाँ एक्स्पोर्ट भीकार्ड क्लिप गरेपछि कण्ट्याक्ट एक्स्पोर्ट हुनेछ । त्यो सेभ गर्नासाथ डाउनलोडमा गएर बस्छ ।

डाउनलोड भएको भीकार्ड कण्ट्याक्टलाई कुनै मेलिङ एड्रेसमा इमेल गर्नुपर्दछ । यति गरेपछि एण्ड्रोइड फोनमा गई ईमेल खोलेर डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड सकिनासाथ फोनमा कण्ट्याक्ट राख्ने कि जीमेलमै राख्ने भन्ने अप्शन देखिनेछ । यसलाई आफूलाई पायक परेको ठाउँमा वा दुवैमा राख्न पनि मिल्छ । यसरी आईफोनमा भएको कण्ट्याक्टलाई सहज तरीकाले एण्ड्रोइडमा सार्न सकिन्छ ।

प्रकाशित मिति: Oct 2, 2018

प्रतिक्रिया दिनुहोस्