Logo
१३ बैशाख २०८१, बिहीबार
(October 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घर बिदा भनि पत्र लेख्दै वडाध्यक्ष पुगे रोजगारीका लागि दक्षिण कोरिया

संखुवासभा : खाँदबारी नगरपालिका-५ का वडाध्यक्ष घर बिदा लिएर वैदेशिक रोजगारमा गएको खुलासा भएको छ । वडाध्यक्ष बमहादुर घले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया गएको एक वर्षपछि मात्र खुलासा भएको हो । वडाध्यक्ष घले नगरपालिका कार्यालयमा घर बिदाको निवेदन दिएर वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पुगेका हुन् ।

वडाध्यक्ष घलेको पत्रमा कार्यबाहकको जिम्मेवारी वडा सदस्य श्यामप्रसाद निरौलालाई तोकिएको छ । कार्यबाहक अध्यक्ष निरौलाले जिम्मेवारी पत्र वडाध्यक्ष घलेले दिएकाले आफूले काम गरेको स्वीकार गरे । उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को ‘ग’ बमोजिम आफूले कार्यबाहक अध्यक्षको जिम्मेवारी लिएको बताए ।

नगरपालिका कार्यालयमा उनले घरयासी काम कारण बाहिर जानुपर्ने भएकाले आफू कार्यालयको काममा उपस्थित हुन नसक्ने जानकारी दिएको बताइएको छ ।  तर वडाध्यक्ष घले घरयासी कामका लागि नभई वैदेशिक रोजगारमा दक्षिण कोरिया गएको खुलासा भएपछि उपनिर्वाचन गर्ने चर्चा सुरु भएको छ ।

रोजगारीको सिलसिलामा विदेश गएर कार्यबाहकको जिम्मा सदस्यलाई तीन महिनाभन्दा बढी दिन नमिल्ने भएकाले उपनिर्वाचनमा जानुपर्ने केही सदस्यहरूको माग छ । उता वडा नम्बर-३ मा समेत वडा सदस्यले अध्यक्षको जिम्मेवारी पाएका छन् । वडाध्यक्ष तोयनाथ ढुंगfनाको हृदयघातका कारण केही महिनाअघि मृत्यु भएपछि उनले अध्यक्षको जिम्मेवारी समल्दै आएका हुन् ।

वडाध्यक्षको मृत्यु भएपछि महिला वडा सदस्य सुनिता कार्कीले जिम्मेवारी समालेकी थिइन् तर अहिले उनको ठाउँमा ज्येष्ठताका आधारमा देवराज घिमिरेलाई जिम्मेवारी दिइएको छ । वडाध्यक्षको मृत्यु भएकाले केही कार्यापालिका सदस्यहरूले उपनिर्वाचन हुनु पर्ने माग राख्दै आएका छन् ।

प्रकाशित मिति: Oct 1, 2018

प्रतिक्रिया दिनुहोस्