Logo
४ बैशाख २०८१, मंगलबार
(September 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उप-महानगरपालिकाका मेयरलाई कारवाही गर्न माग गर्दै सत्तापक्षका २२ सांसदद्वारा उजुरी

धनगढी : धनगढी उप-महानगरपालिकाका मेयर नृपबहादुर ओडविरुद्ध सत्तापक्षका २२ जना प्रदेशसभा सदस्यले कारवाही माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन् । मेयर ओडको अभिव्यक्तिको विरोधमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टीका २२ जना प्रदेशसभा सदस्यहरुले उजुरी दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।

मेयर ओडले बुधबार सत्ता पक्षका प्रदेशसभा सदस्यहरुले गोदावरी राजधानीको प्रस्ताव स्वीकृत गरे २४ घण्टाभित्र धनगढीबाट धपाउने र जलाएर मार्ने अभिब्यक्ति दिएका थिए । प्रदेश सभा सदस्यहरु लिलाधर भट्ट, प्रेमप्रकाश भट्ट, महेशदत्त जोशी, हर्कबहादुर कुवर सहितका २२ जनाले प्रमुख जिल्ला अधिकारीलाई आफुहरुको सुरक्षाको पनि माग गरेका छन् ।

‘उपमहानगरपालिकाको मेयर जस्तो पदमा बसेका ब्यक्तिले सत्ता पक्षका प्रदेश सभा सदस्यहरुको घर खोजी खोजी आगो लगाउन निर्देशन, आगो लगाएर मार्ने धम्की र भौतिक आक्रमणका लागि निर्देशन दिएकाले आफुहरु असुरक्षित भएको महसुस भएको छ’ उनीहरुले उजुरीमा उल्लेख गरेका छन ।

उजुरमा सत्ता पक्षका प्रदेश सभा सदस्यहरुको पिछा गर्न संदिग्ध ब्यक्तिहरु देखिन थालेको, निगरानी गर्न थालेको र धम्की आउन थालेकाले सुरक्षाको माग पनि गरिएको छ । उनीहरुले मेयर ओडले बोलेको अडियो, भिडियो र पत्रपत्रिकाका कटिङ प्रमाणका रुपमा जिल्ला प्रशासनमा पेश गरेका छन ।

तर मेयर ओडले भने विज्ञप्ती निकाल्दै आफूले आक्रोशमा आएर त्यस्तो भनेको भन्दै माफी मागेका छन । उनले दुईतिहाइको बलमा प्रदेशको राजधानी वन मास्ने गरी गोदावरी लग्ने प्रस्ताव आएकाले आक्रोशमा त्यस्ता शब्द आफ्नो मुखबाट निक्लेकोमा आत्मआलोचना गर्दै सच्चाउने उल्लेख गरेका छन् । तर उनले आफु गोदावरी राजधानी सार्ने प्रस्तावको जहिले पनि विरोधमै रहेको विज्ञप्तीमा उल्लेख गरेका छन ।

प्रकाशित मिति: Sep 27, 2018

प्रतिक्रिया दिनुहोस्