Logo
७ बैशाख २०८१, शुक्रबार
(September 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत प्रबुद्ध समुहको ‘कोठे प्रतिवेदन’ हामिलाई मान्य छैन : राजेन्द्र महतो

वीरगंज : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सिमामा हुने तस्करी, अराधिक गतिवधि खुल्ला सिमाको कारण नभई गैरजिम्मेवार सरकारी कर्मचारी, बिभिन्न निकायका पदाधिकारी भएको बताएका छन् । नेपाल भारत खुला सिमा संवाद समुहले वीरगंजमा आयोजित नेपाल भारत खुला सिमा सम्बन्धि अन्तरकृयालाई सम्बोधन गर्दै महतोले सिमामा बस्ने दुबै देशका जनताका लागि भने खुला सिमा अभिसाप नभई बरदान भएको तर्क गर्दै यस्मा केहि कुटनीतक गिरोहहरुको आँखा लागेको बताए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेता महतोले नेपाल–भारत प्रबुद्ध समुहले सार्वजनिक गर्न लागेको प्रतिवेदनले दुई देशको सिमामा रहेको सर्वसाधरण जनताको भावना र इच्छा नबुझेको आरोप लगाए । उनले उक्त प्रतिवेदनलाई कुनै पनि हालतमा मान्य नहुने दाबी गरे । नेपाल भारतको सम्बन्ध सदियौदेखि रोटी–बेटीको रहेकोले त्यसलाई कुनै पनि बहानामा बन्द गर्न खोजिनु ठिक नभएको बताउदै नेता महतोले खुल्ला सिमा भएको कारण केहि मात्रामा अपराधिक घटना तथा तस्करी बढे पनि त्यसको उपाय सिमा बन्द गर्ने नभई त्यसलाई नियन्त्रण गर्नु पर्नेमा सबै मिली लाग्नु पर्ने बताए ।

सिमामा भएको समस्यालाई समाधान गर्न मुख्य जिम्मेवारी सरकारको भएको बताउदै उनले भने ‘हजारौं गाउँ सिमामा छ, घर खेत सिमामा छ कहाँ कहाँ परिचयपत्र वा तारजाली लगाउने त्यो सम्भव छैन ।’ “दुई देशको सम्बन्ध बिगार्ने काम कोहि कसैबाट गर्नु हुदैन्” उनले भने “सिमामा खटेका दुबै देशका सुरक्षाकर्मी र पदाधिकारीहरुले आपसी समन्वय र सहकार्य गर्नु आवश्यक छ ।”

भारत स्थित भाजपा मोतिहारी जिल्ला उपाध्यक्ष एवं इन्डो–नेपाल च्याम्बर ओफ कमर्सका अध्यक्ष राजकुमार गुप्ताले भारत सरकारको सिमा क्षेत्रको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी सामु कुरा राख्ने बताए ।

नेपाल भारत खुला सिमा संवाद समुहका अध्यक्ष राजीव झाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसिया, प्रदेश सांसदहरु रमेश कुर्मी, ओमप्रकाश शर्मा, मंजुर अंसारी, वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, पूर्व अध्यक्ष अशोक बैद्य, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा, अधिवक्ता पानालाल गुप्ता, उद्योगपति जगदिश अग्रवाल, गणेश लाठ, राजपाका नेता निजामुदिन समानी, कृष्ण पटेल लगायतका वक्ताहरुले नेपाल भारतको सिमा सम्बन्धमा आ–आफ्ना बिचारहरु राखेका थिए ।

युवा नेता ओमप्रकश सर्राफले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य आयोजक संस्थाका सदस्य कुन्दन झाले गरेका थिए । कार्यक्रममा संस्थाका सदस्य अनिल महासेठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: Sep 26, 2018

प्रतिक्रिया दिनुहोस्