Logo
१३ बैशाख २०८१, बिहीबार
(September 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अरू देशको तुलनामा हाम्रो संविधानमा महिलाको अधिकार बढी भयो : उपेन्द्र यादव

विराटनगर : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संविधानमा उल्लिखित मौलिक हक उपभोग गर्न कानूनहरु बन्नुपर्ने बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं १ स्तरीय प्रथम भेलाको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले संविधानमा धेरै त्रुटी रहेकाले यसको संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्षसमेत रहनुभएका यादवले संविधानमा महिलाको अधिकार अरू देशको तुलनामा बढी रहेको स्पष्ट पार्नुभयो । संविधान विभेदकारी बन्न नहुने तर्क गर्दै उपप्रधानमन्त्री यादवले संविधानलाई संशोधन गरेर प्रदेशलाई अधिकार सम्पन्न गर्नुपर्छ भन्नुभयो । साधन र स्रोतविहीन प्रदेश कहिले पनि बलियो हुन नसक्ने भन्दै उहाँले जनताको आधारभूत आवश्यकता पूरा गर्न गरीबी र बेरोजगारी समस्या समाधान हुनुपर्छ भन्नुभयो ।

उहाँले मुलुकमा पर्यटन, जलस्रोत र कृषिको विकास गरेर मात्र पछौटेपनलाई निर्मूल पार्न सकिने बताउँदै शिक्षा र स्वास्थ्यमा नेपाली जनताको पहुँच अत्यधिक बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले पहिचान सहितको सङ्घीयताबाट मात्र नेपाली जनताको अधिकार सुनिश्चित हुने धारणा राख्नुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री राउतले सबै नेपाली जनतालाई समान अवसर प्रदान गर्न संविधान संशोधन हुनुपर्छ भन्नुभयो । उहाँले विभाजन र शासनको मानसिकता हटाउन राजनीतिक दलका नेतालाई आग्रह गर्दै कर्मचारीतन्त्रमा अहिले पनि सङ्घीयता प्रवेश गर्न नसकेकामा दुःख व्यक्त गर्नुभयो ।

सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं १ का अध्यक्ष रणध्वज कङदङवाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्य जयराम यादव, रञ्जु वर्मा, आङकाजी शेर्पा, राजकुमार राई, सञ्जयकुमार सिंह लगायतले पार्टीको आगामी नीतिबारे आ–आफ्ना धारणा राख्नुभएको थियो । बुधबारसम्म चल्ने सो भेलामा ५०० पर्यवेक्षक र प्रतिनिधिको सहभागिता छ ।

प्रकाशित मिति: Sep 25, 2018

प्रतिक्रिया दिनुहोस्