Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरि अर्को घटना : बिहेको प्रस्ताव नमानेपछि महिलामाथि एसिड आक्रमण, अवस्था गम्भीर

सांकेतिक तस्बिर

नवलपरासी : एसिड आक्रमणको फेरि अर्को घटना भएको छ । नवलपरासी पूर्वको कावासोतीमा सोमबार राति एक व्यक्तिले स्थानीय महिलामाथि एसिड आक्रमण तथा चक्कुले प्रहार गरी गम्भीर घाइते बनाएका छन् । कावासोती नगरपालिका–१६ हरबासकी ३० वर्षीया बसन्ती परियारमाथि स्थानीय ३७ वर्षका बिमल श्रीपालीले एसिड आक्रमण तथा चक्कु प्रहार गरेको नवलपरासी पूर्वका एसपी रमेश थापाले जानकारी दिए ।

एसिड आक्रमणबाट गम्भीर घाइते भएकी बसन्तीलाई स्थानीय मध्यविन्दु अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज लगिएको एसपी थापाले जानकारी दिए । एसिडको छिटा आक्रमणकारी बिमलको शरीरमा पनि लागेको छ । एसपी थापाले भने, ‘सोमबार राति पौने ९ बजेतिर एसिड आक्रमण तथा चक्कु प्रहार भएको घटनाबारे जानकारी पाएका हौँ । प्रहरीको टोली तत्काल गइ आक्रमणकारी बिमललाई पक्राउ गरेको हो ।’

घटनास्थलबाट एसिडको बोतल पनि बरामद भएको एसपी थापाले बताए । केही दिनअघि एसिड आक्रमणमा परेकी रौतहटकी सम्झना कुमारी दासको मृत्यु भएको भोलिपल्टै नवपरासीमा एसिड आक्रमणको घटना भएको हो । बिमलले बसन्तीलाई एसिड आक्रमण गरेर तीनपटकसम्म छुरा प्रहार गरेको देखिएको छ ।

थापाले घटनाबारे थप जानकारी दिँदै भने, ‘दुवैजना विवाहित र बालबच्चाका अभिभावक रहे पनि आपसमा प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बिमलले विवाहका लागि प्रस्ताव गरेकोमा बसन्तीले अस्वीकार गरेपछि आक्रमण गरेको देखिएको छ ।’

 

प्रकाशित मिति: Sep 25, 2018

प्रतिक्रिया दिनुहोस्