Logo
११ बैशाख २०८१, मंगलबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीको विषयमा हामि ‘सेफ ल्याण्डिङ’को तयारीमा छौं : मुख्यमन्त्री शेरधन राई

इटहरी : मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ को राजधानीको विषयलाई चाँडै ‘सेफ ल्याण्डिङ’ गरिने बताएका छन् । इटहरीमा खुलेको इटहरी सेन्ट्रल प्लाजाको उद्घाटनमा बोल्दै राईले विराटनगर, इटहरी, धरान र धनकुटा सबैलाई सर्वमान्य हुने गरी राजधानीको विषयलाई चाँडै ‘सेफ ल्याण्डिङ’ गरिने बताए ।

‘इटहरीले पटकपटक राजधानी माग गर्दै आएको छ । इटहरी मात्र होइन धरान, धनकुटा र विराटनगर सबैलाई चित्त बुझ्ने गरी राजधानीको विषय टुङ्गिन्छ’, राईले भने, ‘राजधानी बन्न माग गरिरहेका क्षेत्रका सांसदहरूसँग छलफल गरेर चाँडै नै सर्वसम्मत समझदारीमा आउँछौँ ।’

राजधानी र नामजस्ता सवाललाई चाँडै टुङ्ग्याएर समृद्धिको दिशामा अघि बढ्नुपर्ने कुरामा उनले जोड दिए । यो अल्पकालीन सङ्क्रमणकालको समयलाई बिदाइ गर्दागर्दै आर्थिक समृद्धिको दिशामा अघि बढ्नुको विकल्प नभएको राईले बताए ।पूर्वको प्रमुख आर्थिक नगरको पहिचान बोक्दै गएको इटहरीमा व्यापारिक भवन बनेकोमा उनले खुसी व्यक्त गरे ।

सेन्टर प्लाजा, गोर्खा डिपार्टमेन्ट जस्ता अन्य ठूला किसिमका व्यापारिक केन्द्र बन्नुपर्नेमा राईले जोड दिए । ‘पहिले गोर्खा डिपार्टमेन्ट स्टोर थियो । लगानी गर्न जोखिम र असुरक्षित समयमा पनि ठूलो लगानी गरी आज पूर्वमा नाम कमाउन सफल भएको छ’ राईले भने, ‘अहिलेको समय लगानी गर्न डराउनुपर्ने समय होइन, सरकार स्थिर छ । लगानी मैत्री वातावरण छ, ढुक्कले लगानी गर्न सक्नुहुन्छ ।’

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्