Logo
११ बैशाख २०८१, मंगलबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाइनान प्रान्तको नेसनल डेको कार्यक्रममा अतिथि बन्न मुख्यमन्त्री गुरुङ चिनतिर

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मंगलबार चीन भ्रमण का लागि बेजिङ्गतिर लागेका छन् । असोज ९ गतेदेखि १५ गतेसम्मको चीन भ्रमणमा जानुअघि मुख्यमन्त्री गुरुङ पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गर्दै भ्रमण प्रदेशको आवश्यकता र विकाससँग जोडिएको बताएका छन् । मुख्यमन्त्री गुरुङ हाइनान प्रान्तको नेसनल डेको विशेष कार्यक्रममा प्रमुख अतिथि बन्नेछन् । हाइनानका गभर्नरको विशेष निमन्त्रणामा मुख्यमन्त्री गुरुङ चीन जान लागेका हुन् ।

हाइनान प्रान्तको विशेष निमन्त्रणमा जान लागेका मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेशको काममा जाँदा, प्रदेशको प्रतिनिधित्व गर्दै भ्रमणमा जाँदा केके विषयमा कुरा गर्ने र भ्रमणामा केके हुन्छ भन्ने जनतालाई जानकारी दिने एउटा परम्परा बसाल्नुपर्छ ।’ मुख्यमन्त्री गुरुङले भ्रमणका क्रममा प्रदेशले स्थापना गर्न लागेको प्राविधिक महाविद्यालयका विषयमा छलफल हुने जानकारी दिए । ‘प्रदेशमा प्राविधिक महाविद्यालय खोल्ने भनेका छौं । यसमा उनीहरुले इच्छा देखाएका छन्,’ मुख्यमन्त्री गुरुङले भने, ‘तर, यसको सम्झौता पोखरामै गर्न भनेका छौं ।’

हाइनानका गभर्नरलाई आउँदो नोभेम्बरमा पोखरा डाक्ने र दुई प्रदेशबीच मितेरी साइनो लगाउनुका साथै हाम्रो प्राथमिकताका क्षेत्रका आयोजनाको सम्झौता गर्ने योजना रहेको मुख्यमन्त्री गुरुङले सुनाए । उनले आफू यति सहयोग लेऊ, उति सहयोग लेऊ भन्नुभन्दा पनि प्रदेशले लिएको नीति र लगानीका सम्भावनाका विषयमा भ्रमणका क्रममा जानकारी दिने बताए । ‘हामीलाई यति चाहियो भनेर भन्दैनौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘अनुदान लिँदा पनि हाम्रो आवश्यकता र प्राथमिकताका क्षेत्र हेरेर लिन्छौं ।’

पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणमा पनि चिनियाँ चासो रहेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले यसका विषयमा पनि छलफल गरिने बताए । भ्रमणका क्रममा सौर्य उर्जा र जलविद्युतको विषयमा पनि छलफल हुने मुख्यमन्त्री गुरुङले बताए । ‘गण्डकी प्रदेश सोलार र हाइड्रोमा महत्वपूर्ण ठाउँ हो यस विषयमा पनि छलफल हुनेछ,’ मुख्यमन्त्री गुरुङले भने ।

शिक्षा, स्वास्थ्य, होमस्टे, स्थानीय तह जोड्ने सडक कनेक्टिभिटीका विषयमा पनि छलफल गर्ने मुख्यमन्त्री गुरुङले जानकारी दिए ।मुख्यमन्त्री गुरुङले विदेश भ्रमणका क्रममा सम्झौता गरेर र्फकने तर कार्यान्वयन नहुने यसअघिको प्रचलन तोड्दै आफूले कार्यान्वयन हुने खालकोमात्रै सम्झौता गर्ने प्रतिवद्धता जनाए ।

‘लगानी गर्न इच्छुकलाई तपाईंहरुका लगानीका क्षेत्र यी हुन् भनेर प्रदेशका प्राथमिकताका विषय राख्छौं,’ मुख्यमन्त्री गुरुङले भने । यहाँको पर्यटन क्षेत्रमा लगानी गर्न उनीहरुको विशेष चासो रहेको बताउँदै मुख्यमन्त्री गुरुङले त्यस्ता क्षेत्रका जानकारी गराउने बताए । मुख्यमन्त्री गुरुङले चीन भ्रमणका क्रममा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीसँग अन्तक्रिर्यासमेत गर्ने छन् ।

‘पर्यटनमा लगानी गर्न चिनियाँहरुले चासो देखाएका छन्, मुख्यमन्त्री गुरुङले भने, ‘निम्तो पठाएका हाइनानका गभर्नरलाई आउँदो नोभेम्बरमा पोखरा डाक्ने र दुई प्रदेशबीच मितेरी साइनो लगाउने योजना पनि छ ।’ मुख्यमन्त्रीसँगै प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरे, प्रदेश नीति तथा योजना आयोगका गिरिधारी पौडेल, मुख्य सचिव लक्ष्मीराज शर्मा लगायत केही व्यवसायीसमेत भ्रमणमा सहभागी हुने छन् ।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्