Logo
१३ बैशाख २०८१, बिहीबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दरबन्दीविहीन विद्यालयमा शैक्षिक अवस्था सुधारका लागि अनुदान

जाजरकोट : कुशे गाउँपालिकाले दरबन्दीविहीन विद्यालयमा अनुदानमा शिक्षक राख्न पहल शुरु गरेको छ । शिक्षण सिकाइ अनुदान शीर्षकमा रु एक करोड १८ लाख विनियोजन गरिएपछि सो गाउँपालिकाका नौ वटै वडामा शिक्षक राख्ने प्रक्रिया थालिएको छ ।

दरबन्दी नभएका विद्यालयमा शैक्षिक अवस्था खस्केपछि शैक्षिक जनशक्तिका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। गाउँपालिका क्षेत्र भित्रका मावि, निमावि र प्राविमा दरबन्दीका शिक्षक नहुँदा पढाइ प्रभावित भएको छ । यहाँका अभिभावकले चन्दा उठाएर शिक्षकलाई तलबको व्यवस्था गर्दै आएका छन् । अनुदान उपलब्ध गराएपछि शिक्षकको तलबका लागि स्थानीयवासीमा परेको भार कम भएको छ ।

‘अनुदान रकमबाट ८० शैक्षिक जनशक्ति भित्रनेछ,’ अध्यक्ष बस्नेतले भने । अनुदान रकमबाट माविमा ८, निमाविमा २५ र प्राविमा १८ शिक्षक नियुक्त गरिनेछ । गाउँपालिकाले ३१ विद्यालयमा ५१ शिक्षकका लागि रु एक करोड तथा १७ बाल विकास केन्द्रका लागि बाल विकास शिक्षक र कार्यालय सहयोगीका लागि रु १७ लाख ९४ हजार उपलब्ध गराएको हो ।

मावि शिक्षकलाई रु २५ हजार, निमावि शिक्षकलाई रु १८ हजार र प्रावि शिक्षकलाई रु १५ हजारका दरले पारिश्रमिक उपलब्ध गराइनेछ । बाल विकास शिक्षकले रु ६ हजार र कार्यालय सहयोगीले रु तीन हजार का दरले मासिक पारिश्रमिक पाउने छन् । शिक्षण सिकाइ अनुदान आगामी चार वर्षसम्म निरन्तर वितरण गरिनेछ ।

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्