Logo
१३ बैशाख २०८१, बिहीबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाडी बिक्रीका लागि विभिन्न स्कीम ल्याएर वितरकहरु दसैँलक्षित प्रतिस्पर्धामा

काठमाडौ : दसैँमा धेरै गाडी बिक्री हुने सिजनको रुपमा मान्दै आधिकारिक वितरकहरु विभिन्न स्कीम ल्याएर प्रतिस्पर्धामा उत्रिनेका छन् । हाल तरलता केही सहज भएसँगै विभिन्न बैंकले गाडी किन्नका लागि सहुलियत ब्याजदर घोषणा गर्दै ग्राहक तान्ने प्रयास थालेका छन् । एनआइसी एसिया बैंकले वार्षिक १०. ८ प्रतिशत व्याजदरको ‘चमत्कारिक सवारी कर्जा योजना’ ल्याएको छ ।

खरिद मूल्यमा छुट, लक्की ड्रमार्फत विजेता छनौट, बीमा, सडक कर छुट लगायतका स्कीममार्फत उनीहरुले आकर्षित गर्ने गरेका छन् । पछिल्लो समय आधिकारिक वितरकले सहज प्रक्रिया तथा सहुलियत व्याजदरका लागि विभिन्न बैंकहरुसँग सहकार्य समेत गरेका छन् । कुल मूल्यको ३५ प्रतिशत रकम पहिले भुक्तानी (डाउन पेमेन्ट) गरेपछि बाँकी ६५ प्रतिशत रकम किस्ताबन्दीमा बुझाउनेगरी गाडी लिन पाइन्छ ।

अवधिअनुसार बैंकहरुले व्याज जोडेर इएमआई (इक्वेटेड मन्थ्ली इन्स्टलमेन्ट) गणना गरी किस्तावन्दी रकम निर्धारण गर्छन्। सवारीको मूल्य, तिर्ने अवधि र व्याजदरले किस्तावन्दीको रकम निर्धारण हुन्छ । यदी २० लाख रुपैयाँ पर्ने गाडी किन्ने हो भने विविध शुल्कबाहेक कम्तीमा ७ लाख रुपैयाँ पहिले भुक्तानी गर्नुपर्छ । किस्ता तिर्ने १० वर्षको अवधि र वार्षिक १४ प्रतिशत व्याजदर मान्ने हो भने इएमआई गणनाअनुसार १३ लाख रुपैयाँ तिर्न मासिक २० हजार १८४ रुपैयाँका हिसावले १० वर्षसम्म भुक्तानी गर्नुपर्छ । पहिलो किस्तामा ९ हजार ३५१ रुपैयाँ ब्याजदर जोडिएको छ भने बाँकी साँवा रकम हो ।

व्याजदर बढ्दा किस्ता रकम पनि बढी पर्न जान्छ भने तिर्ने अवधि बढाउँदा कम पर्दै जान्छ। आधार व्याजदर, ऋणीप्रति बैंकको विश्वास, गाडीको मूल्य तथा डाउनपेमेन्ट गरेको रकम, सवारीको प्रयोजन (व्यक्तिगत वा व्यवसायिक) र तिर्ने अवधिको आधारमा एउटै बैंकले तोक्ने ब्याजदर पनि फरक फरक पर्ने गरेको छ । तिनैलाई आधार बनाएर बैंकहरुले प्राइम, स्टान्डर्ड, अन्य, व्यवसायिक वा निजी प्रयोजन वा अवधिअनुसार गाडीमा दिने कर्जाको वर्गीकरण गर्ने गरेका छन् ।

सवारी किन्दा कम आधार व्याजदर, कम सेवा शुल्क लिने वा विभिन्न योजना ल्याएका बैंकहरु उपयुक्त हुन सक्छन् । आधार व्याजदरमा केही थप गरी बैंकहरुले कर्जा दिने गरेका छन् । केही बैंकले अधिकतम ७ वर्षसम्मको त केहीले १५ वर्षसम्मको अवधिका लागि गाडीमा कर्जा दिने गरेका छन् । थोरै अवधिका लागि निर्धारित व्याजदर सामान्यतः बढी अवधिको भन्दा कम पर्ने गर्दछ ।

 

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्