Logo
६ बैशाख २०८१, बिहीबार
(September 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनमा उत्रेका ट्याङ्कर चालकको सम्झौता खारेज गर्ने निगमको चेतावनी

काठमाडौं : पेट्रोलियम ट्याङ्कर चालक पनि आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । भने आन्दोलनमा उत्रेका ट्याङ्कर चालकको सम्झौता खारेज गर्ने निगमले चेतावनी दिएको छ ।

मूलुकी ऐनमा सवारी चालकलाई पनि अन्य अपराधीलाई जस्तो कडा सजायको व्यवस्था गरेको भन्दै सार्वजनिक सवारी चालक आन्दोलनमा छन् । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पनि अहिलेको आन्दोलनमा सहभागी नहुने निर्णय भएको र सबै चालकलाई काममा फर्काउने तयारी भैरहेको जनाएको छ ।

नेपाल आयल निगमले भने तत्काल ट्याङ्कर सञ्चालन गरेर पेट्रोलियम पदार्थलाई सहज नबनाए ढुवानी व्यवसायीसँग गरेको सम्झौता खारेज गर्ने चेतावनी दिएको छ । निगमका प्रवक्ता बीरेन्द्र गोइतले निगमले ढुवानी व्यवसायीसँग सम्झौता गरेकाले तत्काल सहज नभए उनीहरुसँगको सम्झौता रद्द गरेर कारबाही गर्ने बताए ।

उनले भने, ‘उनीहरुको माग केहि पनि थाहा छैन, तर बजारमा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । हामीले सोध्दा टालटुले जवाफ दिइरहेका छन् ।’ निगमले बिहिबार सूचना जारी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओस) मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ ।

आम उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष प्रभाव पार्ने अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति सरल र सहज राख्न तत्काल आ–आफ्नो क्षेत्रमा ट्याङ्कर सञ्चालन गर्न समेत सूचीत गरेको छ । उपभोक्तालाई अप्ठ्यारो पार्ने गरी हड्ताल गर्नु गम्भीर विषय भएको प्रवक्ता गोइतले बताएका छन् ।

तर यो ऐनले पेट्रोलियम ट्याङ्कर चालकलाई नछुने ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहराले बताए । उनले भने, ‘अरु र हाम्रा चालकको कुरा फरक छ तर हाम्रा चालकहरु कुरै नबुझी आन्दोलनमा लाग्दा समस्या भएको हो ।’  अन्य चालकसँगै ट्याङकर चालक पनि आन्दोलनमा उत्रिएको संघका अध्यक्ष ईश्वर लामाले बताए। उनले पनि अहिले चालकहरु थानकोटबाट पेट्रोल भर्न हिँड्ने तयारीमा रहेको बताए । तर ठाउँठाउँमा भैरहेको आन्दोलनका कारण जान नमानिरहेको उनले बताएका छन् ।

यसअघि आन्दोलमा उत्रिएका ट्याङ्कर चालक भदौ ३१ गते पेट्रोलियम ट्यांकर चालक संघ र ढुवानी व्यवसायी महासंघबीच भएको बार्तामा बाटोमा हुने खुराकी खर्च दिने सहमती पछि काममा फर्किएका थिए । त्यो आन्दोलनमा भारतको बिहारका ट्याङ्कर चालकले पनि ऐक्यवद्धता जनाएको थिए ।

अन्य सेवा सुविधाका विषयमा एक महिनाभित्रमा पूरा गर्न प्रयास गर्ने सहमती पनि त्यो वार्तले गरेको छ । तर फेरि नेपाल स्वतन्त्र चालक संघर्ष समितिले मुलुकी ऐनको विरुद्धमा आन्दोलन थालेपछि ट्याङ्कर चालक पनि आन्दोलनमा लागेका हुन् । अहिले उपत्यकासहित देशका विभिन्न भागमा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ ।

 

प्रकाशित मिति: Sep 20, 2018

प्रतिक्रिया दिनुहोस्