Logo
७ बैशाख २०८१, शुक्रबार
(September 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा दिनदहाडै एकको हत्या, हत्याको विरोधमा भूटाहा बजारमा तनाव

प्रदेश नम्बर १ स्थित सुनसरीको हरिनगर गाँउपालिका अन्तरगतको भुटाहा बजारमा स्थानियहरु आन्दोलित भएका छन् । दिनदहाडै एक जनाको हत्या भएपछि भुटाहा बजारबासी आन्दोलित बनेका हुन् ।

अज्ञात हतियारधारीहरुको एक समुहले बिहिबार स्थानिय खुर्सिद आलम अन्सारीको हत्या गरेका हुन् । ४ जनाको समुहमा आएका उक्त हत्याराहरुको समुहले अन्धाधुन्ध गोली हानी अन्सारीको हत्या गरेका छन् ।

साविकको वडा नम्बर ४ हाल २ निवासी अन्सारीको हत्या भने बिहिबार दिउसो भूटाहा बजारमा भएको हो । उक्त घटना के-कसरी भएको हो, त्यसबारे थप विवरण खुल्न सकेको छैन ।

हरिनगर गाँउपालिकाका प्रमुख गफ्फार अन्सारीले घटनाको अनुसन्धान भइरहेको बताए । उक्त समुहले चलाएको गोली लागेर अन्सारीको घटनास्थलमै मृत्यु भएको हो । गोली हानेर उक्त समुह भाग्दै गर्दा स्थानिय प्रहरीले घुस्की स्थित घेराउ गर्ने प्रयास गरेका थिए । तर कसैलाई पक्राउ भने गर्न सकेनन् ।

गाँउपालिका प्रमुख अन्सारीका अनुसार सोही समुहको गोली लागेर एक जना प्रहरी जवान घाइते भएका छन् ।

घाइते प्रहरी जवान शिवलाल पौडेलको थप उपचारका लागि बिराटनगर लगिएको छ । उनको छाती र पाखुरामा गोली लागेको छ ।

भारतबाट आएको हतियारधारी समूहले उनको हत्या गरेको हुन सक्ने बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा हरिनगर समितिका उनी प्रवक्ता हुन् । भुटाहा स्थित रैयान नेशनल पब्लिक स्कुलका संचालक समेत हुन् ।

मोटरसाइकलमा आएको हतियारधारी समूहले उनको हत्या गरि भुटाहा बजारको दक्षिणी मार्ग (भूटाहा–घुस्की) हुँदै भागेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले हतियारधारी समुह भारत तर्फ भागेको बताए ।

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको उनले बताए । हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुर्इ एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।

सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले दिएको जानकारी अनुसार भारतीय नम्बर प्लेटको पुरानो मोटरसाइकलमा आएका उक्त समुहले गोली चलाएका हुन् ।

गोली लागेर अन्सारीको घटनास्थलमै ज्यान गएको हो । आफूहरु अहिले घटनास्थलमा रहेको र घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: Sep 20, 2018

प्रतिक्रिया दिनुहोस्