Logo
१२ बैशाख २०८१, बुधबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भीमेश्वर चम्पुजा डाँडा पर्यटकीय गन्तव्य बन्दै

दोलखा : भीमेश्वर नगरपालिका–४ दुंगलस्थित चम्पुजा डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय चम्पुजा डाँडामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । यहाँबाट गौरीशङ्कर हिमालका साथै तामाकोशी नदीको दृश्यावलोकन गर्न सकिन्छ । जिरी, हनुमन्ते डाँडा, मैनापोखरी, मार्वु र जुगु क्षेत्रको अवलोकन गर्नसमेत यहाँ पर्यटक आउने गरेका छन् ।

नेवार बस्तीभन्दा माथि रहेको मञ्जुश्रीको मन्दिर, कालीञ्चोक भगवती, हिउँले ढाँकेको उच्च पहाडी हिमशृङ्खलाका मनमोहक दृश्य चम्पुजा डाँडाबाट सहजै हेर्न सकिने स्थानीवासी हरि श्रेष्ठ बताउनुहुन्छ । जिल्लामा आउने आन्तरिक पर्यटक अधिकांश दोलखा भीमेश्वर मन्दीर तथा कालीञ्चोक भगवतीको दर्शन गर्न आउने गरेका छन् ।

उनीहरु चम्पुजा डाँडा अनिवार्य पुग्ने गरेका छन् । यहाँ भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा भीमेश्वर नगरपालिका–४ का बासिन्दाको विशेष पहलमा चम्पुजा उद्यान निर्माण गरिएको छ । “चम्पुजा उद्यान दोलखा बजारकै आकर्षणको केन्द्र बनेको छ,” स्थानीय पर्यटन व्ययसायी लाक्पा शेर्पाले भन्नुभयो ।

उद्यानकै कारण चम्पुजा डाँडा यहाँको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको उहाँको भनाइ छ । भीमेश्वरको दर्शनपछि पर्यटक यहाँका मनोरम दृश्य अवलोकन गर्न चम्पुजा डाँडा पुग्ने गरेका छन् । विश्वकै अग्लो हिमशिखर सगरमाथा हिमालको प्रवेशद्वार जिरीको आफ्नै मौलिक एवं पर्यटकीय महत्व छ ।

विश्वप्रसिद्ध च्छोरोल्पा हिमताल, रोल्वालिङ क्षेत्र, लामाबगर, बीगु गुम्बा, हिम आरोहीको बासस्थल बेदिङ गाउँ, शैलुङ्गेश्वर, देउलाङ्गेश्वर महादेव, जटापोखरीलगायत पर्यटकीय गन्तव्य हुन् ।  (रासस)

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्