Logo
१३ बैशाख २०८१, बिहीबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रिय निर्देशनलाई चुनौती दिदै फोरम नेतृ रेणु यादव लगायतले मनाए कालो दिवस

संघीय समाजवादी फोरम नेपालकी प्रदेश २ अध्यक्ष रेणु यादव लगायतका फोरम नेता कार्यकर्ताहरुले संविधान दिवसका दिन अर्थात असोज ३ गते कालो दिवस मनाएका छन् । फोरम केन्द्रिय कार्यालयले कालो दिवस नमनाउन निर्देशन दिएको थियो भने केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले स्वंयले फोरमले कुनै कालो दिवस मनाउने कार्यक्रम तय नगरेको बताएका थिए । मंगलवार राजविराज पुगेर पार्टी अध्यक्ष यादवले कालो दिन नमाउन दिएको निर्देशन दिएका थिए ।  तर फोरम नेपालका नेता कार्यकर्ताहरु सामाजिक सञ्जाल मार्फत् आफूहरु बुधबार कालो दिन मनाइरहेको बताएका छन् ।

उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका यादवले मंगलबार राजविराजमा कालो दिन नमनाउने र संविधान दिवस मनाउने बेला पनि नभएको बताएका थिए । अध्यक्ष यादवको उक्त कुरालाई चुनौती दिदै पार्टीकी केन्द्रिय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष रेणुकुमारी यादवले विभेदकारी संविधान संशोधन नहुञ्जेलसम्म आफुहरु असोज ३ गतेका दिन कालो दिन कै रुपमै मनाउने बताएकी छन् ।

समाजिक सञ्जाल फेसबुकमा कालोपटी र कालो झण्डासहित आफ्नो फोटो समेत राख्दै उपाध्यक्ष यादवले लेखेकी छन्, ‘ विभेदकारी संविधान संशोधन नहुञ्जेलसम्म असोज ३ लाई कालो दिनको रुपमा मनाउने।’ उपाध्यक्ष यादव फोरम नेपालको तराई मधेश प्रादेशिक समितिकी अध्यक्ष समेत हुन्। उनको अध्यक्षतामा केहीदिन अघि बसेको प्रादेशिक कार्य सम्पादन समितिको बैठकले असोज ३ लाई कालोदिनको रुपमा मनाउने निर्णय गर्दे कार्यक्रम सार्वजनिक गरेको थियो।

तर अध्यक्ष उपेन्द्र यादवले मंगलबार राजविराजमा कालो दिन नमनाउन निर्देशन दिएपछि उपेन्द्र सहभागी कार्यक्रममै रेणुले भनेकी थिइन् ‘अध्यक्षजी जनविश्वास र कार्यकर्ताको विश्वासमा खरो उत्रनुस नभए जनताले साथ छोड्न सक्छन्।’ ‘फोरम नेपाल सरकारमा गएको तीन महिना भयो खै भयो त संशोधन’ रेणुले भनिन्,‘ फोरम नेपाल झण्डा र गाडीका लागि सरकारमा गएको होइन्, दुईतिहाई पुर्‍याएर संविधान संशोधन गर्न सरकारमा गएको हो तर संशोधनको सिन्को भाँचिएको छैन्।’

रेणुका छोरा तथा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य अभिषेक कुमार यादवले पनि फेसबुकमा संशोधन नहुन्जेलसम्म असोज ३ लाई कालो दिनकै रुपमा मनाउने बताएका छन्। फोरमका अन्य नेताहरुपनि आफुहरु असोज ३ लाई कालो दिनको रुपमा मनाईरहेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्