Logo
१३ बैशाख २०८१, बिहीबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी कार्यालयहरुमा कालोझण्डा, सिके राउतका ५० कार्यकर्ता पक्राउ

देशभर संविधान दिवसको नाममा बिविध कार्यक्रमहरु भइरहँदा मधेशी समुदायले भने कालोदिवस मनाइरहेका छन् । राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बुधबार सप्तरी जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरुमा कालोझण्डा गाडेका छन् ।

मधेशी जनतालाई दमन गरी २०७२ साल असोज ३ गते संविधान जारी गरिएको भन्दै राजपाले असोज ३ गते कालो दिन मनाउने कार्यक्रम अन्तरगत सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेको राजपाका सह महामन्त्री गजेन्द्र मण्डलले बताए ।

बुधबार बिहानैदेखि सदरमुकाम राजविराज सहितका जिल्ला प्रमुख बजारहरुमा राजपाका नेता कार्यकर्ताहरु कालोझण्डासहित प्रर्दशन गरेका छन् । प्रदर्शन र सरकारी कार्यालयहरुमा कालोझण्डा गाड्ने कार्यक्रममा राजपाबाट स्थानीय तहमा निर्वा्चित भएका जनप्रतिनिधिहरु समेत सामेल छन् ।

उनीहरुले विभिन्न स्थानीय तहको कार्यालयमा समेत कालो झण्डा गाडेका छन् । राजपाले दिउँसो राजविराजमा बृहत विरोध कार्यक्रम गर्ने तयारी गरेको छ । विरोध सभालाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राजपाले कालो झण्डा सहित प्रदर्शन गरिरहँदा जिल्लामा सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । अघिल्ला दिनहरु भन्दा बजार र ग्रामिण क्षेत्रमा सुरक्षाकर्मीहरुको उपस्थिती बाक्लो छ ।

सिके राउतका ५० कार्यकर्ता पक्राउ , पक्रने क्रम जारी

यसैबीच, जनकपुरमा संविधानको विरोधमा कालो दिवस मनाउने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धनका ५० जनाभन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरको विभिन्न स्थानबाट डा.सिके राउतको कार्यकर्ताहरुलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

स्वतन्त्र मधेशको माग गर्दै आन्दोलनरत्त डा.सिके राउत नेतृत्वको गठबन्धनले आज संविधान दिवसको अवसरमा जनकपुरको बाह्रविघा रंगभूमि मैदानमा कालो दिवस मनाउने तयारी गरेका छन् । पूर्व घोषित कार्यक्रम अन्तर्गत डा.सिके राउतले आज मनाउने भनेको कालो दिवस कार्यक्रम असफल पार्न प्रहरीले पहिलादेखि नै सुरक्षा व्यवस्था कडा गरेको छ ।

त्यस्तै राउतका कार्यकर्ता माथि निगरानी बढाएको छ भने डा.राउतलाई समेत खोजविन गरिरहेको प्रहरीले जनाएको छ । बाह्रविघा मैदानमा भव्यताका साथ कालो दिवस मनाउन स्वतन्त्र मधेश गठबन्धनले ‘चलु जनकपुर , भरु जनकपुर ’ नारा दिँदै व्यापक प्रचार प्रसार गर्दै आएका छन् ।

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्