Logo
१३ बैशाख २०८१, बिहीबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ सरकारले तीन दिनसम्म संविधान दिवस मनाउँदै 

विराटनगर : प्रदेश १ सरकारले ‘संविधान दिवस–२०७५’ लाई तीन दिन सम्म मनाउने निर्णय गरेको छ । त्यसका लागि प्रदेशका मुख्य मन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले पाँच सय एक सदस्यीय मूल समारोह समिति गठन गरेको छ । प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयले सोमबार विराटनगरमा कार्यक्रमको आयोजना गरेर मंगलबारदेखि बिहीबार सम्म विविध कार्यक्रम गरेर संविधान दिवस मनाउने तयारी गरिएको जानकारी दियो ।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा भव्यताका साथ मनाउन राजनैतिक दल, कर्मचारी, सामाजिक संघ संस्था, उद्योगी, व्यापारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पेशाकर्मी, खेलाडी, युवा, ज्येष्ठ नागरिक, महिला, नागरिक समाज एवं प्रदेशवासीलाई सरकारले आब्हान गरेको छ । जननिर्वाचित संविधासभाबाटै संविधान निर्माण गर्ने र शासन व्यवस्था संचालन गर्ने ७० वर्ष अगाडि देखिको नेपाली जनताको चाहना पूरा भएको दिनका रुपमा संविधान दिवस मनाइने प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए ।

मंगलबार प्रदेशको अस्थायी राजधानी विराटनगर भित्रका सबै सरकारी कार्यालय, महानगरपालिकाले आ–आफ्नो कार्यालय र क्षेत्रका विभिन्न स्थानहरुमा राष्ट्रिय झण्डा एवं व्यानर सजाई नगरको श्रृङ्गार र सरसफाई गरिने छ । त्यस्तै सरकारी कार्यालय परिषर र घरघरमा दिपावली तथा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु पनि गरिने भएको छ ।

पर्सी बुधबार सूर्योदयका साथ प्रहरीले विगुल बजाउने कार्यक्रम छ । राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात, अज्ञात सहिदहरु प्रति उच्च सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न मठ, मन्दिर, मस्जिद, विहार, गुरुद्धार, चर्च लगायतका स्थानहरुमा पूजापाठ र प्रार्थनाको कार्यक्रम पनि गरिने छ । विराटनगर स्थित सहिद रंगशालामा नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा नेपाल स्काउट र विद्यार्थीले मार्च पास गर्ने छन् । विभिन्न जातजातिको भेषभुष र संस्कृति झल्कने सांस्कृतिक झाँकी प्रदर्शन पनि गरिने जानकारी मन्त्री कार्कीले दिए ।

बिहीबार नेपालको संविधानको सन्दर्भलाई पारेर हाजिरीजवाफ र बक्तृत्वकला प्रतियोगिता गरिने र साँझ दिपावली गरिने उनको भनाइ छ । विभिन्न प्रतियोगितामा विजयी हुनेहरु तथा उत्कृष्ट झाँकी समूहलाई पुरस्कारको व्यवस्था समेत गरिएको जानकारी मन्त्रालयले दिएको छ । मन्त्री कार्कीले संविधान हामी सबैको हो भन्ने अनुभूति आम नागरिकमा गराउने हिसावमा यसलाई राष्ट्रिय दिवसका रुपमा मनाइने बताए । संविधानको विरोध र काुनन विपरित कार्य गर्ने छुट कसैलाई पनि नभएको भन्दै कार्कीले राष्ट्र हित विरोधी गतिविधी गर्नेमाथि कडाई गर्ने र संविधानको विरोध गर्नेलाई कानुनी कारवाही गरिने चेतावनी दिए ।

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्