Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ वर्षदेखि अलपत्र हुलाकी राजमार्ग : कतै पुल छैन, कतै सडकै छैन

विराटनगर : मध्य तराईको लाईफ लाईनको रुपमा लिईएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने हुलाकी राजमार्ग निर्माणको काम शुरु भएको १३ वर्ष वित्दा पनि काम सम्पन्न हुन सकेको छैन् । ०६२/०६३ सालदेखि हुलाकी राजमार्ग निर्माणको काम शुरु गरिए पनि निर्माणको अवस्था भने अझै उस्तै छ ।

हुलाकी राजमार्ग अन्तर्गतको सप्तरीदेखि झापासम्मको २ सय २५ किलोमिटर सडक अहिले हिड्न पनि नसकिने अवस्थामा छ । सप्तरी सदरमुकाम राजविराजदेखि मोरङको सदरमुकाम विराटनगर हँुदै झापा जिल्ला सदरमुकाम भद्रपुरसम्म चारपाङ्ग्रे सवारी साधन चल्ने अवस्था छैन् । यो खण्डमा साइकलको यात्रा पार गर्नपनि निकै सास्ती व्यहोर्नुपर्ने अवस्था छ । सडकखण्ड अन्तर्गत धेरै स्थानमा पुल निर्माणको काम अधुरै छ ।

झापामा सडकको काम अघि बढेको छ भने सप्तरीमा पुल निर्माणको काम भइरहेको छ । सरकारले चालू आव २०७५/७६ का लागि बजेट विनियोजन नगरेका कारण मोरङ र सुनसरी जिल्ला अन्तर्गत सडक निर्माणको काम ठप्प भएको छ । झापा र मोरङ जिल्लाको सिमाना भएर बग्ने रतुवा नदीले गत वर्ष हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्ड बगाएको थियो । यही खण्ड पनि निर्माण हुन सकेको छैन ।

राजमार्गकै मोरङको सुनवर्षी नगरपालिका हुँदै जाने सडक खोलाले बगाएको थियो । तर, पुनर्निर्माण अघि नबढ्दा सडकको करीब २ सय मिटर खण्ड नै हराउन पुगेको छ ।

झापा र मोरङमा राजमार्गको ४८÷४८ किलोमिटर, सुनसरीमा ३० किलोमिटर र सप्तरीमा ३२ किलोमिटर सडक पर्छ । यी जिल्लाअन्तर्गत पर्ने झापामा राजमार्गलाई जोड्ने सहायक राजमार्ग चारआली केचना ४० किलोमिटिर, मोरङमा कानेपोखरी रंगेली २५ किलोमिटिर र सप्तरीमा कल्याणपुर वर्साइन हुँदै ब्रह्मपट्टी १८ किलोमिटर सहायक राजमार्ग छन् ।

हुलाकी राजमार्ग आयोजनाका प्रमुख विजयकुमार महतोकाअनुसार सरकारले चालू आवका लागि ५३ करोड रुपैयाँ निकासा गरेको छ । जसमा हुलाकी राजमार्ग अन्तर्गत सप्तरीमा अहिले २ करोड रुपैयाँ लागत रहेका साना–ठूला गरी १५ ओटा पुलको निर्माण भईरहेको छ । यसबाहेकका काम भने स्थगित भएको छ ।

त्यसैगरी झापामा ३३ करोड रुपैयाँ लागतमा मेची नदीमा एक दर्जन पुल निर्माणको चरणमा छन् । त्यस्तै, झापाकै चारआलीमा ४० किलोमिटिर सहायक सडकमा कालोपत्रेको काम भईरहेको छ । यसबाहेकमा उल्लेखनीय काम हुन सकेको छैन् । आयोजना प्रमुख महतोले चालू आवमा तोकिएको कामका लागि बजेट अपुग भएको बताए । थप बजेट निकासाका लागि प्रयास गरेपनि प्राप्त हुन नसकेको उनले बताए । बजेट अभावका कारण निर्माण कम्पनीलाई निकासा दिन समस्या भएको उनले बताए ।

राजमार्ग अन्तर्गतकै मोरङ र झापाको सिमानामा पर्ने रतुवामाई नदीको पुल पनि बेहाल छ । पुल निर्माण भएपनि नदीले पूर्वतर्फको क्षेत्र कटान गरेपछि सञ्चालनमै नआइ अलपत्र परेको छ । सुनसरी मोरङ पुल निर्माण आयोजनाले ११ करोड रुपैयाँ लागतमा २ सय ५ मिटर लम्वाईको यो पुल ७ वर्ष अघि निर्माण शुरु गरेको थियो । जसअनुसार निर्माण कम्पनी कालिका आशिष जेभीले ठेक्का पाएको पुल निर्माण ३ वर्ष अघि नै सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको छ । तर, पुल हस्तान्तरण नहुँदै नदीमा आएको बाढीले केही भाग बगाएको छ । अहिले उक्त पुलको बीच भागमात्र छ । पुनर्निर्माण नगरिँदा पुल प्रयोगमा ल्याउन सकिएको छैन्, यसका लागि पहल पनि भएको छैन् ।

प्रकाशित मिति: Sep 18, 2018

प्रतिक्रिया दिनुहोस्