Logo
१५ चैत्र २०८०, बिहीबार
(September 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष साहविरुद्ध अविश्वासको प्रस्ताव

रौतहट : नेपाल पत्रकार महासंघ, रौतहट शाखाका अध्यक्ष रवीन्द्रप्रसाद साहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । कुल ७६ सदस्य रहेको रौतहट शाखाका ५३ सदस्यहरुले अध्यक्ष साहविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । नेपाल पत्रकार महासंघको संशोधित विधान २०७३ को परिच्छेद ४ को दफा १५ को ‘क’ देखि ‘छ’ सम्मको बुँदामा उल्लेख भए अनुसार साहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको पत्रकार प्रेमचन्द्र झाले बताए ।

अध्यक्ष साहमाथि कार्यसमितिको निर्णय विनै लाखौं रुपैयाँ खर्च तथा हिनामिना गरेको, महासंघको विधानविपरीत पदाधिकारी, सदस्य निलम्बन तथा कनिष्ठ सदस्यलाई कार्यवाहक अध्यक्ष बनाएको, विभिन्न संघ-सस्थाबाट रकम उठाएर महासंघलाई कमाइखाने माध्यम बनाएको आरोप छ ।

पत्रकार आचारसंहिताविपरीत गतिविधि सञ्चालन गरेको आरोपसँगै सामाजिक सञ्जालमा आफ्नै शाखाका पदाधिकारी तथा सदस्यविरुद्ध अश्लिल शब्द तथा गालीगलौजहरु प्रयोग गरेको आरोप पनि उनीमाथि लगाइएको छ । नेपाल पत्राकार महासंघको विधान अनुसार अविश्वासको प्रस्ताव दर्ता भएको ३५ दिनभित्र विशेष साधारणसभा बोलाएर प्रस्ताव पारित गर्नुपर्ने नियम छ ।

साहको बदमासीका कारण दुई तिहाइभन्दा बढी सदस्यहरु रुष्ट छन । दर्ता गरिएको अविश्वासको प्रस्ताव प्रदेश समिति र केन्द्रीय कार्यालय समेतलाई पठाइएको छ ।

प्रकाशित मिति: Sep 18, 2018

प्रतिक्रिया दिनुहोस्