Logo
१३ बैशाख २०८१, बिहीबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘भौगोलिक बाध्यता’ कारण पनि नेपाल र भुटानले चाहेरपनि भारतबाट टाढा हुन सक्दैन : भारतीय सेना प्रमुख

भारतीय सेना प्रमुख विपिन रावतले ‘भौगोलिक बाध्यता’ कारण नेपाल र भुटानले चाहेर पनि भारतबाट टाढा जान नसक्ने बताएका छन् ।पुनेमा भएको बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास ‘माइलेक्स–१८’ को आइतबारको समापन समारोहपछि आयोजित पत्रकारहरुसँगको अन्तक्रियामा नेपाल सहभागी नभएको सन्दर्भमा रावतले त्यस्तो भनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उनले भूगोलकै कारण यी दुई मुलुकले चीनतर्फ ढल्किन नसक्ने दाबी समेत गरेका छन् । सैन्य अभ्यासमा सहभागी नहुने नेपालको निर्णयबाट भारत सरकार असन्तुष्ट रहेको चर्चा चलिरहेको बेला रावतको उक्त भनाईलाई अर्थपूर्ण ठानिएको छ । तर सोही कार्यक्रममा भारतीय रक्षा राज्यमन्त्री सुभाष भाम्रेले भने नेपालमा सैन्य नेतृत्व भर्खरै परिवर्तन भएको हुँदा सैन्य भाग नलिने निर्णयलाई अन्य कोणबाट हेर्न नहुने बताएका छन् ।

साताव्यापी उक्त सैन्य अभ्यासमा नेपाल र थाइल्याण्ड औपचारिक रुपमा सहभागी भएनन् । दुवै मुलुकले पर्यवेक्षकका रुपमा मात्र सहभागिता जनाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनमा प्रस्ताव गरेको संयुक्त सैन्य अभ्यास नेपालले अन्तिम समयमा भाग नलिने निर्णय गरेको थियो ।

‘उनीहरु भारतबाट टाढा जान सक्दैन । नेपाल र भुटानजस्ता मुलुकहरुले भूगोलका कारण स्वाभाविक रुपमा भारतर्फ झुकाव राख्नुपर्छ । भूगोलका कारण नै चीनतर्फ भन्दा भारततर्फ झुकाव राख्न अनुकूल छ, । हाम्रो नेतृत्वले पनि छिमेकी पहिले र पूर्व हेर नीति लिएको छ। बिमस्टेक पनि त्यही नीति अन्तर्गत पर्छ । त्यसैले हामीहरु छिमेकीसँगको सम्बन्ध सुदृढ पार्न प्रयासरत छौं । ठूलो मुलुक भएकाले हामीहरुले अग्रसरता देखायौं भने त्यसलाई अन्य मुलुकले अनुसरण गर्नेछन्,’ रावतलाई उद्धृत गर्दै भारतीय अंग्रेजी दैनिक द इण्डियन एक्सप्रेसले भनेको छ ।

पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा भाग नलिन नेपाली सेनालाई निर्देशन दिएका थिए । नेपालले चीनको प्रभावमा परेर उक्त निर्णय लिएको र त्यसबाट भारत असन्तुष्ट भएको दाबी भारतीय सञ्चारमाध्यमहरुले गरेका थिए ।साथै नेपालले एकातिर भारतको प्रस्तावलाई अस्वीकार गरेको र अर्कोतर्फ आजबाट चीनसँगको बढ्दो निकटता परिणाम स्वरुप छेंग्दुमा सुरु हुने ‘सगरमाथा फ्रेन्डसीप–२’ नाम दिइएको नेपाल–चीन संयुक्त सैन्य अभ्यासमा सहभागी हुन लागेको समेत भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए। जबकि चीनसँगको सैन्य अभ्यास पूर्वनिर्धारित कार्यक्रमअनुसार नै हुन लागेको हो ।

भारतीय सेना प्रमुख रावतले चीनले पनि भारतले जस्तै बजार खोजिरहेको, त्यसमा दुवैबीच प्रतिस्पर्धा रहेको हुँदा जसले राम्रो गर्न सक्यो उसैले जित हासिल गर्ने समेत बताएको द इण्डियन एक्सप्रेस ले लेखेको छ। त्यसैगरी पुनेमा गरिएको जस्तै सैन्य अभ्यास भविष्यमा पनि जारी रहन्छ भन्ने प्रश्नमा रावतले भारतले पहल गरेको तर, यसलाई भविष्यमा कसरी र कहाँ निरन्तरता दिने सम्बन्धमा निक्र्यौल हुन बाँकी रहेको बताएका छन् ।

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्