Logo
७ बैशाख २०८१, शुक्रबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम-राजपा नेतृत्वको प्रदेश २ सरकारले असोज ३ गते संविधान दिवस मनाउने

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान दिवसको बिरोध गर्न मन्त्रीहरु नै खटाउने निर्णय गरेका बेला संघीय समाजवादी फोरम र राजपा गठबन्धनका प्रदेश २ सरकारले संविधान दिवस मनाउने तयारी गरेको छ । प्रदेश २ सरकारले असोज ३ गते संविधान दिवस मनाउने तयारी गरेको छ ।

२०७२ असोज ३ गते नेपालको संविधान २०७२ घोषणाको दिनलाई प्रदेश २ सरकारले पनि मनाउने तयारी गरेको हो । तर दिवसका दिन गरिने कार्यक्रम भने टुंगो लगाउन बाँकी छ । प्रदेश सरकारका मन्त्रालयहरु रहेको जनकपुर चुरोट कारखाना परिसरमा संविधान दिवसका दिन बृक्षारोपण गर्ने सरकारको तयारी छ ।

संविधान दिवसका दिन बृक्षारोपण गर्ने कार्यक्रम मात्र तय भएको तर थप कार्यक्रमको टुंगो लाग्न बाँकी रहेको प्रदेश २ मुख्य सचिव राजेश्वरमान सिंहले बताउनुभयो ।  दुवै मधेसवादी दलले यसअघि संविधान दिवसलाई कालो दिवस भनेर मनाने चर्चा चलाएको थियो । तर सरकार घटक राजपा नेपालले भने असोज ३ लाई कालोदिवस मनाउने घोषणा गरिसकेको छ ।

प्रदेश २ मा आफ्नै सरकार र संघीय सरकारलाई समर्थन गरेकाले असोज ३ गते संविधान दिवसलाई हर्षोल्लासपूर्वक मनाउने कि बिरोध गर्ने भन्नेमा दुवै दल धर्मसंकटमा फसेका छन् । संघीय सरकारले असोज ३ गते संविधान दिवस मनाउन प्रदेश सरकारलाई पत्राचार गरेको छ । त्यही पत्रको आधारमा प्रदेश २ को सरकार मूल समारोह समिति गठन गरेर संविधान दिवस मनाउने तयारीमा छ ।

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्