Logo
१३ बैशाख २०८१, बिहीबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ । यही भदौ २७ गते बेलुकी धौलागिरि हिमालको फेदीमा पहिरोले रघुगङ्गा नदी थुनिएपछि आएको बाढीले दुलेखर्कस्थित रितुङ माविको तीनवटा भवनको सातवटा कक्षा कोठा र चारकोठे शौचालय बगाएको थियो ।

पहिरोले भवनसहित विभिन्न ठाउँमा पैदलमार्ग बगाएको, बाँकी भवन पनि कटानको जोखिममा रहेकाले दुई हप्ताका लागि पठनपाठन बन्द गरिएको प्रअ खिमबहादुर छन्त्यालले बताए । कक्षा १० सम्मको पठनपाठन हुने सो विद्यालयमा १७५ विद्यार्थी अध्ययनरत छन् । विद्यालय परिसर कटानको उच्च जोखिममा परेपछि स्थानान्तरणको पहल थालिएको छ ।

बाढीले कटान गरेर कुइनेमङ्गलको खरिबोटमा चन्द्रबहादुर र यामबहादुर छन्त्यालको घर बगाएको छ भने बेलबहादुर, चन्द्रप्रसाद, भक्तप्रसाद छन्त्याल र भक्तिप्रसाद विकको घर उच्च जोखिममा परेपछि विस्थापित भएका छन् । नदीले बस्तीतर्फ कटान गर्न थालेपछि रघुगङ्गाको किनारमा अवस्थित घ्याँसीखर्कका १६ घर जोखिममा परेको छ ।

सहारा युवा क्लबको भवन र खेलमैदान बाढीले पुरिएको छ । दुलेखर्क र घ्याँसीखर्कको सिमानामा रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ । स्वास्थ्य चौकी भवन निर्माणस्थलमा बाढी परेर क्षति पु¥याएको छ । छहरीका दुई घर जोखिममा परेका छन् । पहिरोले पोल बगाउँदा ३५ घरधुरीको बसोबास रहेको दुवाडीमा विद्युत् आपूर्ति बन्द भएको छ ।

बाढी, पहिरो र कटानका कारण खेतीयोग्य जमीनमा समेत क्षति पुगेको पीडित चन्द्रबहादुर छन्त्यालले बताए । “घरमा भएको सबै सामान बाढीले बगायो, एकसरो ज्यानबाहेक केही रहेन,” छन्त्यालले पीडा पोखेका छन् ।

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्