Logo
१३ बैशाख २०८१, बिहीबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला हत्याकाण्ड सुनियोजित : सीसीटीभी क्यामेरामा समेत ‘छेडखानी’

होटेल ओपेरा अगाडि जडित सीसी क्यामरा । यो क्यामराले १२ साउनमा काम गरिरहेको थियो तर १७ साउनमा योसँगै अन्य आधा दर्जन क्यामराले काम गर्न छोडे ।महेन्द्रनगर : निर्मला हत्याकाण्ड सुनियोजित भएको समाचार आइरहँदा त्यसलाई पुष्टि गर्ने अर्को एक सन्दर्भ उजागर भएको छ ।हत्याकाण्डसँगै भीमदत्त नगरपालिकाले बजारक्षेत्रको निगरानीका लागि जडित सीसीटीभी क्यामेरामा समेत छेडखानी भएको हुनसक्ने नयाँ तथ्य सतहमा आएको हो ।

मानसखण्डमा प्रकाशित समाचार अनुसार नगरपालिकाले निर्मलाहत्याकाण्डको करिब दुई महिना अगाडि बजारक्षेत्रमा जडान गरेका १६ मध्ये सात क्यामेरा साउन १७ गतेपछि काम नलाग्ने अवस्थामा आउनुले हत्याकाण्ड योजनावद्ध भएको दावीलाई बल मिल्ने देखिएको छ ।

बन्द भएका ती क्यामेरा होटल ओपरा र निर्मलाको शव पाइएको स्थल जाने बाटोमा जडित रहेको स्रोतको भनाई छ । तर, यसको पुष्टि हुन सकेको छैन । यस विषयमा जिल्ला प्रहरी कार्यालयमा रहेको नियन्त्रण कक्ष अवलोकन गर्न अनुरोध गर्दा प्रहरीले स्वीकृति दिएन । कञ्चनपुरका प्रहरी प्रमुख कुवेरसिंह कडायतलाई नियन्त्रणकक्ष अवलोकनका लागि अनुरोध गर्दा उनले भने, ‘डीआइजी सापले कानुनअनुसारको प्रक्रियामा गए मात्रै हेर्न दिनु भन्नुभएको छ ।’ एसपी कडायतले निवेदनसहित आएमा केही दिनको प्रक्रिया पु¥याएर नगरका कुन–कुन क्यामेराले काम गरिरहेका छन् भन्ने हेर्न पाइने बताए ।

निर्मलाको हत्या भएको एक साता पछिसम्म चलिरहेको होटल ओपेरा अगाडिको क्यामेरासहित केही अन्य महत्वपूर्ण स्थानका क्यामेरा अचानक अहिले बिग्रेका छन् । एसपी कडायतले होटल ओपेराको गेट सहितको क्षेत्रलाई फोकस गरिएको क्यामेरासहित अन्य क्यामेरा १७ साउनपछि नचलेका बताए ।

१० साउनमा एसपी विष्टका छोरा किरण विष्टले आफ्नो जन्मदिनको अवसरमा साथीहरुसहित फोटोसुट गरेको भनिएको होटल ओपेराको सीसीटीभी क्यामेराको हार्डडिस्कको क्षमता १५ दिनसम्म मात्रै भएकोले त्यसदिनको रेकर्ड मेटिएको बताइएको छ । तर, नगरपालिकाले जडान गरेका क्यामेरा अचानक कसरी बिग्रियो नयाँ भन्ने प्रश्न उठेको छ । नगरपालिकाले जडान गरेको क्यामेराले ओपेराको गेटको दायाँ–बायाँ पाँच–पाँच मिटर फोकस गरेपनि १७ साउनपछि त्यो क्यामेरा नचलेको एसपी कडायतले बताए । सो क्यामेरा भीमदत्तका मेयर सुरेन्द्र विष्टको घर अगाडि जडान गरिएको छ ।

१७ साउन अगाडि भने त्यो क्यामेरा चालु रहेको एसपी कडायतको भनाई छ । उनले बलात्कारपछि हत्याको घटना हुँदासमेत प्रहरीले १० र ११ साउनका दिन नगरका सीसीटीभी क्यामेराको फुटेज सुरक्षित नराखेको स्वीकारे । ठूला घटना भएका बेला उपयोगी हुने विश्वासका साथ जडान गरिएका क्यामेरातर्फ प्रहरीले ध्यान नदिएको हो वा जानीजानी फुटेज सुरक्षित नराखिएको भन्नेबारे आफूले केही भन्न नसक्ने एसपी कडायतको जिकिर छ । एसपी कडायत जिल्लाका प्रमुख भएर ८ भदौमा मात्रै कञ्चनपुर आएका हुन् ।

नगरपालिकाले झण्डै २० लाख रुपैयाँको लागतमा बजारक्षेत्रमा १६ क्यामेरा जडान गरेको छ । ती क्यामेरालाई रातको समयमा पनि काम गर्नसक्ने अर्थात् ‘नाइटभिजन क्यामेरा’ बताइएको थियो । क्यामेरा जडान गर्ने ठेक्का पाएको उग्रतारा ट्रेडर्सले जिल्ला प्रहरी कार्यालयमा नियन्त्रण कक्ष राखिएको सो नेटर्कको स्टोरेज क्षमता ६ टीबी भएको बताएको छ । सो क्षमताको हार्डडिस्कमा झण्डै ३० दिनको डाटा सुरक्षित रहने उग्रताराले बताए पनि एसपी कडायतले १३ दिनको डाटा मात्रै सुरक्षित हुने बताए ।

एसपी विष्टका छोरा किरण विष्टले १० साउनका दिन परेको आफ्नो जन्मदिनको अवसरमा साथीहरुसहित होटेल ओपेरामा फोटोसुट गरेको बयान दिएपछि ओपेराको सीसीटभिी फुटेज खोजिएको थियो तर उच्चस्तरीय समिति भदौ ८ मा महेन्द्रनगर आउँदा स्टोरेज क्षमताका कारण ओपेराको त्यो फुटेज स्वतः मेटिएको थियो । होटेल ओपराले सो दिन किरणसँगै अन्य दुई युवक र तीन युवती होटलमा आएको जानकारी प्रहरीलाई उपलब्ध गराएको छ । निर्मलाका आमा–बुवाले तीनमध्ये एक आफ्नी छोरी निर्मला भएको आशंका गरेका छन् । तर, किरणले निर्मलालाई आफूले नचिनेको बताएका छन् ।

किरणसँग सो होटेलमा अरु को आएका थिए भन्ने एकिन गर्न नगरपालिकाद्वारा जडित क्यामेरा सहयोगी सावित हुने भए पनि त्यसतर्फ उच्चस्तरीय समितिको समेत ध्यान जान नसकेको पाइएको छ । एक महिनाको स्टोरेज क्षमता भएको नेटवर्कतर्फ ध्यान गएको भए किरणसँग सो दिन को थिए भन्ने थाहा पाउन कठीन हुने थिएन । उच्चस्तरीय समितिले ८ भदौबाटै काम सुरु गरेको थियो । त्यतिबेलासम्म नगरपालिकाको नेटवर्कको सीसीटीभी फुटेज सुरक्षित हुनसक्थ्यो ।

१७ साउनपछि कुन–कुन क्यामेरा बेकामे भए भन्ने एसपी कडायतले बताउन नसके पनि जिल्ला प्रहरी कार्यालय स्रोतले ओपेरा–उल्टाखाम (निर्मलाको घर तथा शव पाइएको स्थल) जाने दुबैतर्फका सडमा जडित सबै क्यामेरा बिग्रेका बताएको छ । ती क्यामेरा १० साउनपछि बिग्रका पनि स्रोतको कथन छ ।

होटल ओपेरा–उल्टाखाम जाने सब्जीमण्डी र मदनचोक दुबैतर्फका क्यामेरा १७ साउन पनि नचलेका स्रोतको भनाइ छ । मेनरोडका क्यामेरा पनि बेकामे अवस्थामा रहेको बताइएको छ । अन्यक्षेत्रका क्यामेराले भने अहिले पनि काम गरिरहेका छन् । १० साउनपछि एकैचोटी ती क्यामरा कसरी बिग्रे, बलात्कारपछि हत्याको घटना हुँदा पनि प्रहरीले नगरको फुटेज किन सुरक्षित राखेन, सीआइबी डिएसपी अंगुर जीसी र उच्चस्तरीय छानविन समितको ध्यान नगरको सीसीटीभी नेटवर्कतर्फ किन गएन भन्ने प्रश्न महत्वपूर्ण बनेको छ । डिएसपी जीसीको टोली घटनाको चौथो दिन महेन्द्रनगर पुगेको थियो ।

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्