Logo
१२ बैशाख २०८१, बुधबार
(September 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोला थुनिएर झण्डै डेढ किलोमिटर क्षेत्रमा बन्यो गहिरो ताल

बाग्लुङ : बाग्लुङको बडीगाड खोलामा पहिरोका कारण थुनिएकोमा अहिले पानी ओभरफ्लो भएर बग्न थालेको छ । खोला थुनिएपछि १०० मिटर गहिराइको ताल बनेको छ भने तीनवटा घरमा पानी पसेको छ ।

बडीगाड गाउँपालिका–९ र ढोरपाटन नगरपालिकाको सीमा क्षेत्रमा शुक्रबार राति साढे बजेतिर गएको पहिरोका कारण खोला थुनिएर झण्डै डेढ किलोमिटर क्षेत्रमा ताल बनेको बाग्लुङका एसपी दीपक रेग्मीले जानकारी दिएका छन् ।

अहिले ताल बनेको क्षेत्रबाट पानी ओभरफ्लो भएर बग्न थालेको र जोखिम कम हुँदै गएको एसपी रेग्मीले बताएका छन् । बडीगाड गाउँपालिका-७ को तुरतुरेमा सुख्खा पहिरो गएका कारण खोला थुनिएको हो ।

पहाड माथिबाट खसेको ठूलो चट्टानले खोला थुनेपछि बडीगाड आसपासमा रहेका गाउँहरुमा सचेत रहन आग्रह गरिएको एसपी रेग्मीले बताए । बाग्लुङ तथा गुल्मीका केही गाउँमा जोखिम रहेको छ । बिहान पाँचबजेतिरदेखि थुनिएको ठाउँबाट पानी केही निकाश हुन थालेको हो ।

घटनाको जानकारी पाएपछि बाग्लुङका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नेपाली सेनासहितको टोली घटनास्थल पुगेको थियो । अहिले तीनवटै सुरक्षा निकायलाई सम्भावित घटनाको उद्धारका लागि परिचालन गरिएको छ ।

प्रकाशित मिति: Sep 15, 2018

प्रतिक्रिया दिनुहोस्