Logo
१५ चैत्र २०८०, बिहीबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फूलमा आत्मनिर्भर बन्न खोज्दै झापा : जग्गा भाडामा लिएर सयपत्री फूलको व्यावसायिक खेती

भद्रपुर : अतिथिको स्वागत गर्दा दिइने फूलको गुच्छा होस् वा तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला, सयपत्री फूलको थुङ्गाले दिने सौन्दर्यको तुलना नै हुन सक्दैन । न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने फूलहरुमध्ये सयपत्रीलाई नेपालीहरुले अति मन पराउँछन् । सभा समारोहहरुमा सजाउन मात्र होइन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्न थालिएको छ ।

यति धेरै महत्व र माग भएर पनि नेपालमा भारतबाट महङ्गोमा आयात गरेर सयपत्रीको माग धान्नु परिरहेको छ । सीमावर्ती प्रमुख नाकाहरुबाट वर्षेनी करोडौँको फूल भित्रिरहेको छ । भन्सार नाकाबाट भन्दा बढी मात्रामा अनधिकृत रुपमा खुला सिमानाबाट भित्र्याइने गरिएको छ ।

फूलमाथिको यही परनिर्भरता हटाउन र आय बढाउन झापाका किसानहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । झापाको अर्जुनधारा, भद्रपुर, मेचीनगर, विर्तामोड, गौरादह लगायतका क्षेत्रमा किसानहरुले यसपालि २० बिघाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती लगाएका छन् । बाह्रैमास फुल्ने सयपत्रीको वर्णशङ्कर र रैथाने बिरुवा रोपेका उनीहरुले यसपालिको तिहारमा स्वदेशी फूलले बजारको माग धान्ने बताएका छन् ।

भद्रपुर–७ इलुबारीमा खगिन्द्रा खुशीले दुई बिघा जग्गा भाडामा लिएर सयपत्री फूलको व्यावसायिक खेती गर्नुभएको छ । “तिहारमा भारतबाट भित्रिने सयपत्री फूल किन्न घुइँचो लागेको देखेर मलाई यसको खेती गर्ने सोच आयो,” निजी लगानीमा खेती शुरु गर्नुभएकी खुशी भन्नुहुन्छ – “फूल फुलाउन मात्र पर्दोरहेछ, किन्ने व्यापारीहरु बारीमै आउँछन् ।” सयपत्री फूलको बेर्ना रोपेको एक महिनापछि नै फुल्न थाल्ने भएकाले उहाँको बारीमा अहिले फूल फुल्न थालिसकेको छ । तिहारका लागि अर्कै बिरुवाहरु हुर्किरहेका छन् ।

विर्तामोडको सूर्योदय टेलिभिजनमा साहित्यिक कार्यक्रम सञ्चालन गर्नुहुने साहित्यकार खुशी फूल खेतीमा काम गर्न सजिलो हुने र उत्पादन खर्च समेत कम हुने अनुभव सुनाउनुहुन्छ । तिहार अगावै फूल फुल्दा बजारमा नबिक्ने हो कि भनी शुरुमा उहाँलाई चिन्ता लागेको थियो तर, त्यसो भएन । ठूलो संख्यामा रहेका सहकारी संस्थाहरुबाट साधारण सभाका लागि आएका माग पूरा गर्नै धौ धौ छ ।

मेचीनगर–९ मा डी एण्ड डी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत चार वर्षदेखि नर्सरी व्यवसायमा लाग्नुभएकी दीक्षा उप्रेतीले यसपालि १० कठ्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती शुरु गर्नुभएको छ । “फूल खेती नेपाली महिलालाई स्वरोजगार बनाउने एउटा वैकल्पिक व्यवसाय हो,” नर्सरी व्यवसायकी अनुभवी दीक्षा भन्नुहुन्छ – “मैले तीन तले खेतीको रुपमा सयपत्रीसँगै मेवा र कागती खेती गरेकी छु ।”

तिहारमा सयपत्री फुलिसक्ने र त्यसपछि मेवा फलाउने उहाँको योजना छ । उहाँको खेतीमा कलकत्ते भेराइटीज जातको सयपत्रीका बिरुवामा यतिबेला कोपिला लाग्न थालेका छन् । तिहारमा मात्र फुलाउने योजनाअनुसार उहाँले बिरुवाको मुन्टा बेलाबेला टिपेर फाल्ने गर्नुभएको छ । उहाँले सयपत्री फूलको खेतीमा झार र रोगबाट जोगाउन ‘मलसिङ’ प्रविधि प्रयोग गर्नुभएको छ । भुइँमा प्लास्टिक ओच्छ्याएर बिरुवा टुसाउन दिनका लागि मात्र दूलो पार्ने नयाँ प्रविधिलाई मलसिङ भनिन्छ । डी एण्ड डी बायोप्लान्टेकबाट उहाँले खेती गर्न चाहनेहरुलाई परामर्शसहित यसपालि ३५ हजार सयपत्रीका बिरुवा बिक्री गरिसक्नुभएको छ ।

झापाका महिलालाई व्यावसायिक बनाउन सहयोग पुर्याउँदै आएको महिला उद्यमी सङ्घ झापाले विर्तामोड–१ र भद्रपुर–८ मा एक बिघा जग्गा भाडामा लिएर सयपत्री फूलको नमुना खेती गरेको छ । सङ्घको खेतीमा सयपत्रीको कोपिला मात्र भर्खर बस्न थालेको छ । “सयपत्री फुल्नु अघि नै मालाको अर्डर आइसक्यो, बजारको कुनै चिन्ता छैन” – सङ्घका अध्यक्ष गोभा भट्टराई बताउनुहुन्छ ।

सङ्घले सयपत्रीको बिरुवा उमारेर इच्छुक व्यक्ति र समूहलाई यसपालि एक लाख बिरुवा बिक्री गरेको भट्टराईले जानकारी दिनुभयो । सयपत्री फूलको खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । एक कठ्ठा र दुई कठ्ठाका दरले यसको खेती लगाउने झापामा दर्जनौँ किसान छन् ।

विर्तामोड–९ निवासी अर्का किसान दलबहादुर अधिकारीले यसैका लागि चारवटा अत्याधुनिक टनेल निर्माण गरेर खेती शुरु गर्नुभएको छ ।उहाँले पाँच कठ्ठामा बेमौसमी हजारिया जातको सयपत्री फूलको खेती लगाएको बताउनुभयो । उहाँले टनेलमा फुलाएको फूलको एक खेप बिक्री भइसकेको छ । अरु खेतमा लगाइएको सयपत्री तिहारका बेला फुलाउने उहाँको योजना छ । अर्जुनधारा जलेश्वरधाममा दैनिक पूजाका सामग्री बेच्ने खुद्रा व्यापारीहरु सयपत्री किन्न उहाँको बारीमै पुग्ने गरेका छन् ।

महिलाहरुले फूल खेतीप्रति देखाएको लगनशीलताका कारण विर्तामोड नगरपालिकाले पनि प्रोत्साहन दिन थालेको छ । फूल किसानलाई प्रोत्साहन गर्न विर्तामोड नगरपालिकाले उद्यमी महिला सङ्घलाई बेर्ना खरिद र तालीमका लागि चालु बजेटबाट रु ५० हजार अनुदान दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले बताउनुभयो ।

टनेल बनाएर आधुनिक विधिबाट बेमौसमी फूलको खेती गर्दै आउनुभएका विर्तामोड–९ का दलबहादुर अधिकारीलाई समेत नगरपालिकाले रु ६० हजार अनुदान दिएको छ । विर्तामोड नगरपालिकाका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले नगरलाई फूलमा आत्मनिर्भर बनाउने योजना अनुरुप प्रोत्साहन प्रदान गरिएको र यस्तो प्रोत्साहन अझै बढाउँदै लगिने बताउनुभयो ।

उद्यमशील महिला सङ्घ झापाले महिलालाई सयपत्री फूलको खेतीमा लाग्न आग्रह गर्दैआएको छ । “थोरै पूँजी र मेहनतमा फूल खेती गर्न सकिन्छ,” सङ्घका अध्यक्ष भट्टराईले भन्नुभयो – “महिला दिदीबहिनीहरु सयपत्री फूलको खेती गर्नूस्, बजार हामी खोजिदिन्छौँ ।”

चितवन र काठमाडौँबाट समेत सयपत्री फूलको मालाको माग आउन थालेको बताउँदै उहाँ भन्नुहुन्छ – “अहिले भइरहेको खेती अपुग छ । झापामा धेरै ठूलो सम्भावना छ सयपत्री फूल खेतीको ।” इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा बागबानी विषयमा अध्यापन गराइरहनु भएका विकास खनालले झापाको माटो र हावापानी सयपत्री फूल खेतीका लागि उपयुक्त भएको बताउनुभयो ।

“वर्षेनी विदेशबाट करोडौँको फूल आयात भइरहेको छ तर, हामी स्वदेशमै यसको सम्भावनालाई देख्न सकिरहेका छैनौं,” खनाल भन्नुहुन्छ -“झापालाई फूल खेतीको पकेट क्षेत्र घोषणा गरेर सरकारले किसानलाई तालीम, प्राविधिक सहयोग र अनुदान दिनुपर्छ ।”

सयपत्री फूल खेतीप्रतिको आकर्षणले मुलुकभरकै माग धान्ने गरी उत्पादन गर्न झापा सक्षम हुने विश्वास विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई व्यक्त गर्नुहुन्छ । फूलको परनिर्भरता हटाउन सरकारले किसानलाई प्रोत्साहन स्वरुप सुलभ कर्जा र अन्य सहुलियत प्रदान गर्नुपर्ने बजार विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति: Sep 14, 2018

प्रतिक्रिया दिनुहोस्