Logo
१३ बैशाख २०८१, बिहीबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगान द्वन्द्व सिरियाभन्दा बढी घातक हुन सक्ने

काबुल : विश्लेषकहरुले अफगानिस्तानमा यस वर्ष जारी द्वन्द्व सिरियाली युद्ध भन्दा पनि बढी घातक हुन सक्ने बताएका छन् ।

सन् २०१८ मा अफगानिस्तानको हिंसाले विश्वलाई पछि पार्न सक्ने र यो सिरियाभन्दा पनि बढी हुन सक्ने उनीहरुको भनाई छ । सिरियामा जारी युद्धलाई विश्वकै एक खतरनाक द्वन्द्वका रुपमा हेरिन्छ । अमेरिकी नेतृत्वमा हस्तक्षेप भएयता १७ वर्षदेखि अफगानिस्तानको द्वन्द्व साम्य हुनुको साटो अझ डरलाग्दो र घातक भइरहेको छ ।

युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसमा कार्यरत अफगान विज्ञ जोनी वाल्सले भन्नुभयो– उता सिरियामा शान्ति स्थापनाका लागि भएका प्रयासहरु र यता अफगानिस्तानमा बढ्दो हिंसात्मक घटना र नागरिक हताहतका दृश्य हेर्दा सन् २०१८ मा विश्वमा अफगानिस्तान नै सबैभन्दा बढी हिंसा हुने देश हुन सक्दछ ।

यहाँ हरेक वर्ष हिंसाका घटनामा बृद्धि भइरहेको छ । अफगानिस्तानको परिस्थिति निरन्तर खस्कदो आवस्थामा छ, उहाँले भन्नुभयो ।
सिरियामा अफगानिस्तानको भन्दा करिब एक दशकपछि द्वन्द्व शुरु भएको थियो । सिरियामा यसवर्ष करिब १५ हजार नागरिकको ज्यान गएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

तर अफगानिस्तानमा यस वर्ष ज्यान गुमाउने नागरिकको संख्या २० हजार कट्ने देखिएको इन्टरनेसनल क्राइसिस ग्रुपका एकजना परामर्शदाता ग्रामी स्मीथले जानकारी दिनुभयो ।

अफगानिस्तानको गृहमन्त्रालयका उपप्रवक्ता नसरत राहिमीको अनुमानमा हरेक साता ३०० देखि ४०० दुश्मन लडाकूहरु मारिने गरेको बताउनुभयो । तर उहाँले नागरिकको मृत्यु र सरकारी फौजको विवरण उपलब्ध गराउन चाहनु भएन ।

अफगानिस्तानमा जारी द्वन्द्वमा सन् २०१४ यता मृत्यु हुनेको संख्या एकाएक बढेको पाइएको छ । यस वर्षको अक्टोबर २० मा संसदीय चुनाव गर्ने तथा तालिबानसँग वार्ता गर्ने प्रस्ताव आएलगत्तै हिंसात्मक घटनामा वृद्धि भएको छ ।

पछिल्ला विवरणमा तालिबानले धेरै ठूलो भूभागमा कब्जा जमाउन सफल भएको पाइएको छ । सामान्यतया कमजोर ठानिएको इस्लामिक स्टेट्सले समेत आक्रमणका सिलसिला जारी राखेको छ ।

प्रकाशित मिति: Sep 14, 2018

प्रतिक्रिया दिनुहोस्