Logo
१२ बैशाख २०८१, बुधबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘हामी जहाँ-जहाँ जान्छौं, त्यहाँ–त्यहाँ हाम्रो पछि प्रहरीको सिआईडी छरिएका छन्’

काठमाडौं : महिला अधिकारकर्मी शारदा चन्दले निर्मला पन्तको वास्तविक हत्यारालाई पत्ता लगाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्ने बताउँदै आफूहरु न्याय माग्न काठमाडौं आएको बताईन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्,‘न्याय माग्न काठमाडौं आएका छौं । तर, हामी जहाँ-जहाँ जान्छौं, त्यहाँ–त्यहाँ हाम्रो पछि प्रहरीको सिआईडी छरिएका छन् । प्रहरीहरु त हत्या भएको ठाउँमा जानुपर्ने होईन र ? सरकारले निर्मलाको हत्यारा पत्ता नलगाउनु दुःखद् हो ।

राष्ट्रपति यो घट्नामा किन मौन बस्नुभएको छ ? नारीको अस्मितामाथि यत्रो प्रश्न उठ्दा पनि राष्ट्रपति किन मौन बस्नुभएको हो ? एक वर्षमा कञ्चनपुरमा २७ जना चेलीहरुको ईज्जत लुटिएको छ । तर राष्ट्रपतिज्यूले निर्मला पन्तको हत्याबारे किन बुझेरपनि बुझपचाउनुभयो ? तपाईलाई के बाध्यता भयो ?’

वास्तविक हत्यारा सार्वजनिक गर्दा सरकारनै ढल्ने हो भने सरकारलाई यस्तो बाध्यता के हो ? भन्दै उनले प्रश्नसमेत गरिन् । छानबिन समितिका ५ जनै सदस्य सरकार पक्षको भएकोले यो समिति निश्पक्ष नभएको उनको आरोप छ । उनले भनिन्,‘समितिमा कम्तीमा एक जना मानव अधिकारकर्मी राख्नुपर्छ ।

हत्याको अनुशन्धान गर्न गठित आयोगको म्याद १५ दिन किन थपियो ? हामी यसको घोर विरोध गर्दछौं ।’ उनले यसअघि तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेकी छिन् ।

निर्मलाको हत्यारा पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोको पनि टोली खटिएकोमा सिआईबीका डिएसपी अंगुरले नै प्रमाणहरु नष्ट गर्ने काम गरेको उनको आरोप छ । उनले भने,‘एसपी डील्लीराज विष्टलाई निलम्बन गरेरमात्रै पुग्दैन्, बर्खास्त नै गर्नुपर्छ ।’

उनले एउटा अपराधी जोगाउनुपर्ने कारण के हो ? भन्दै सरकारलाई प्रश्न गरिन् । उनले भनिन्,‘अपराधी कति बलियो छ ? एउटा व्यक्तिलाई जोगाउन किन यस्तो हुँदैछ?’ उनले प्रधानमन्त्रीले एनटिभीमा दिएको एक अन्तर्वार्तामा हावादारी कुरा बोलेको पनि आरोप लगाईन् । उनले भनिन्,‘मेयरको घरमा निर्मलाको शब लगियो भनेर प्रधानमन्त्रीले हावा कुरा बोल्नुभयो । प्रधानमन्त्रीको भनाईमा कुनै सत्यता छैन । म घोर विरोध गर्दछु।’

उनले छानबिन समितिका सदस्य विरेन्द्र केसीले केही दिन रिपोर्टर्स क्लबमा बोल्दै आफूले समितिबाट राजिनामा दिएको जानकारी गराएको तर दुई दिन नबित्दै पूनः समितिमा फर्किएको बताउँदै आफूहरुलाई केसीप्रति नै शंका रहेको बताईन् । उनले भनिन्,‘केसीले थुकेको थुक किन चाट्नुभयो ?’

त्यस्तै कार्यक्रममा अर्की अधिकारकर्मी माया नेगीले निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाएर दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरिन् । उनले भनिन,‘प्रमाण नष्ट गर्ने प्रहरीलाई कठघरामा उभ्याउनुपर्छ । वास्तविक हत्यारालाई कानुनी कठघरामा उभ्याउनुपर्छ ।’

सरकारप्रति आफूहरुको आशा नभएको उनको गुनासो छ । उनले भनिन्,‘प्रधानमन्त्री ओलीप्रति हामी निराश छौं । समितिलाई हामीले काम गर्न दिएनौं भनेर प्रधानमन्त्रीले झुटो कुरा बोल्नुभयो । टिकापुर घट्ना घटाउन खोजिएको छ भनेर हामीमाथि आरोप लगाउनुभयो । हामी कञ्चनपुरवासी के मोदीका जनता हौं र ?’

त्यस्तै, अर्की अधिकारकर्मी मीना भण्डारीले ३३ प्रतिशतभन्दा बढि महिला जनप्रतिनिधि हुँदा पनि नेपाली चेलीहरु यति ठूलो अन्यायमा पर्दा किन आवाज उठ्दैन भनेर प्रश्न गरिन् । उनले भनिन्,‘किन चेलीले न्याय पाउँदैनन् । महिला जनप्रतिनिधिहरुको बोली किन फुक्दैन् ।’

उनले निर्मला पन्तको बलात्कारपछिको हत्याको अपराध लुकाउन किन कोशिस गरियो भन्ने प्रश्न गरिन् । उनले भनिन्,‘४८ दिनसम्मपनि न्याय नपाएपछि हामी बाध्य भएर काठमाडौं आएका छौं । अब सरकारले हामीलाई न्याय दिलाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीको अभिव्यक्ति निन्दनीय भएपनि आफूहरु अझैपनि सरकारप्रति आशावादी नै रहेको उनको भनाई छ । उनले भनिन्,‘प्रधानमन्त्रीले अब पीडितको कुरा सुन्नुपर्छ । न्याय नपाएसम्म हामी खाली हात घर फर्कदैनौं । राज्यले हामीलाई अवहेलित गरेको छ । सरकारले हामीलाई न्याय दिनैपर्छ ।’ सरकारले वास्तविक अपराधीलाई पत्ता लगाउन सक्दैन भने आफूहरुलाई यो सरकार नचाहिने उनको भनाई छ ।

त्यस्तै अधिवक्ता पुष्पराज पौडेलले नेपालको प्रहरी अनुशन्धानमा अब्बल रहँदै आएको ईतिहाँस भएपनि निर्मलाको बलात्कारपछिको हत्यामा संलग्न वास्तविक दोषीलाई पत्ता लगाउन नसक्दा आफूहरुलाई प्रहरीको भुमिकामाथि आशंका पैदा भएको आरोप लगाए ।

उनले भने,‘प्रहरीले घट्नाको ढाकछोप गर्न प्रमाणहरु नष्ट गर्यो । मृत्तक निर्मलाको डिएनए प्रोफाईल तयार भैसकेकोले अब घट्नामा संलग्न भनेर शंका व्यक्त गरिएका व्यक्तिहरुको पनि डिएनए प्रोफाईल तयार पार्दा वास्तविक अपराधी पत्ता लाग्छ ।’

अधिकारकर्मीहरुले आफूहरुको कुरा जनतासामू पुर्याउनको लागि रिपोर्टर्स क्लब नेपाल र यसका सभापति ऋषि धमलाले महत्वपूर्ण योगदान पुरयाएको भन्दै धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्