Logo
१२ बैशाख २०८१, बुधबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मलाको हत्यारालाई चाँडो पत्ता लगाएर कडा कारवाही गर्न माग

काठमाडौँ : बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई चाँडो खोजी गरेर कारवाही गर्न माग गरिएको छ ।रिपोर्टर्स क्लब नेपालद्वारा बिहिबार आयोजना गरिएको साक्षात्कारमा पन्तका आमाबाबुले निर्दोष छोरी निर्मलाको हत्यारालाई चाँडो पत्ता लगाएर कडा कारवाही गर्न माग गरेका हुन् ।

निर्मलाका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता लगाउन प्रहरीले आवश्यक सहयोग नगरेको गुनासो गरेका छन् । “प्रहरी मेरो साथी भनेर नारा लगाइन्छ तर दुःख पर्दा प्रहरीबाट असहयोग हुन्छ,” उनले भने । छोरी हराएपछि तत्काल प्रहरीलाई खबर गर्दा प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न आलटाल गरेको उनले आरोप लगाए । निर्मलाकी आमा दुर्गादेवी पन्तले हत्या भएको ५०औँ दिन पुग्दा पनि दोषी पत्ता नलागेपछि न्यायको खोजीमा काठमाडौँ आएको बताए । “जसरी पनि हामीलाई न्याय चाहिएको छ, कञ्चनपुरमा न्याय नपाएर हामी यहाँ आएका हौँ,” उनले भने ।
मानवअधिकारकर्मी शारदा चन्दले घटनाको छानबिनका लागि बनाइएको समितिमा सरकारी मान्छे मात्र राखेर घटनाको प्रमाण नष्ट गर्न खोजिएको आरोप लगाए । उनले पीडित परिवारलाई समेत ज्यानको खतरा रहेको भन्दै सुरक्षाको माग गरेका छन् ।

अर्का अधिकारकर्मी मीना भण्डारीले सरकारले अपराधीलाई जोगाउन खोजेको आरोप लगाए । मानवअधिकारकर्मी माया नेगी, अधिवक्ता पुष्पराज पौडेलले सरकारले घटनाको अनुसन्धान गर्न तीन/तीन वटा समिति बनाउँदा पनि अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नु दुःखद भएको बताए । निर्मला साउन १० गते हराएको र ११ गते मृत भेटिएपछि उक्त घटनाबाहिर आएको थियो ।

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्