Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युएईले ऊर्जा सम्मेलन गर्दै : यूएईलाई ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौं । सरकारले आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई)लाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि मङ्गलवार सिंहदरवार पुगेका नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्वीसँगको भेटमा ऊर्जा मन्त्री पुनले नेपालका केही ठूला परियोजनामा लगानीका लागि अनुरोध गरेका हुन् ।

युएईले सन् २०१९ को जनवरीमा ऊर्जा सम्मेलन आयोजना गर्न लागेको छ । सोही सम्मेलनको निम्तो दिन राजदूत हमादनले मन्त्री पुनसँग भटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा मन्त्री पुनले ऊर्जा क्षेत्रमा सहकार्यका लागि प्रस्ताव गरेका थिए । उनले लगानीको सुरक्षाका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने भन्दै ढुक्क भएर लगानी गर्न युएईका लगानीकर्तालाई सन्देश पु¥याइदिन आग्रह गरेका थिए ।

सो अवसरमा नेपालको ऊर्जा क्षेत्रमा लगानीका विविध आयामका बारेमा छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । उक्त भेटमा युएईले नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी गर्दै आइरहेको राजदूतले अवगत गराए । ऊर्जामा युएईको लगानी आवश्यक परे आफ्नो सरकारसँग औपचारिक आग्रह गर्नका लागि सहजीकरण गर्न सकिने राजदूतको भनाइ थियो ।

युएईमा १७० देशको सहभागितामा उर्जा सम्मेलन
ऊर्जा मन्त्री पुनसँगको भेटमा युएईले १ सय ७० देशको सहभागिता हुने गरी ऊर्जा सम्मेलन गर्न लागेको राजदूत हमादनले जानकारी गराए । उक्त सम्मेलनमा प्रत्येक वर्ष नेपालले प्रतिनिधित्व गर्दै आएको छ । गत वर्ष तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले समेत उक्त सम्मेलनमा भाग लिएका थिए ।

ऊर्जा मन्त्री पुनले पछिल्लो समय निजी क्षेत्र र विभिन्न देशका राजदूतसँग नेपालमा लगानी गर्न आग्रह गर्दै आएका छन् । नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर भएको भन्दै उनले लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गर्दै आएका छन् । रासस

प्रकाशित मिति: Sep 12, 2018

प्रतिक्रिया दिनुहोस्