Logo
१५ चैत्र २०८०, बिहीबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तरुण दलका नेताको हत्याको विरोधमा जिल्ला बन्द

रोल्पा : नेपाल तरुण दल रोल्पाले आफ्ना नेताको हत्याको विरोधमा गरेको बन्दका कारण आज बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ ।

तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरोधमा सो दलले बन्दको आह्वान गरेको हो । पुनको आइतबार राति गोली हानी हत्या भएको थियो । बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका छन् ।

बिहान पठनपाठनका लागि विद्यालय तथा कलेज पुगेका विद्यार्थी फर्किएका छन् । लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रु विचल्लीमा परेका छन् । पूर्व माओवादी कार्यकर्ताले सभापति पुनको हत्या गरेको तरुण दलले आरोप लगाएको छ । अपराधीलाई कार्वाही नहुँदासम्म आन्दोलन जारी रहने नेपाल विद्यार्थी संघ रोल्पाका सचिव नारायण रेग्मीले जानकारी दिएका छन् । मृतक पुनको शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघामा लगिएको प्रहरीले जनाएको छ ।

कांग्रेसद्वारा दुःख व्यक्त 
यसैबीच, नेपाली कांग्रेसले पनि आइतबार राति विज्ञप्ति जारी गरी हत्यारालाई कडा कारवाही गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट नजीकै भएको घटनामा पनि हत्यारालाई पक्रन प्रहरीले तदारुकता नदेखाउनु दुःखद् भएको उल्लेख छ ।

काँग्रेसले हत्या भएका पुनमाथि श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । यसैगरी काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो दलका रोल्पा नगर समितिका अध्यक्ष रोहित पुनको हत्या भएकोमा दुःख व्यक्त गरेको छ । दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले एक विज्ञप्ति जारी गरी आइतबार दिउँसो सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा पुनमाथि गोली हानिएको भन्दै दुःख व्यक्त गरेको हो ।

हत्यामा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कारवाही गर्न नेपाल तरुण दल माग गरेको छ । हत्यारालाई नियन्त्रणमा लिएर कारवाही नगरे तरुण दलले देशभर आन्दोलन गर्ने जनाएको छ ।

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्