Logo
१२ बैशाख २०८१, बुधबार
(September 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्यापारको नाममा ठगी : पौने ११ लाखमा वीरगन्ज आइपुगेको ‘रेनल्ट क्याप्चर’ को मूल्य ५१ लाख !

सवारी आयातकर्ताहरूले आयातित सवारीमा मनोमानी ढंगले मूल्य निर्धारण गर्दा उपभोक्ता ठगिँदै आएको तथ्य फेला परेको छ । भारतबाट आयात गरेर नेपालको भन्सार बिन्दुमा ६ लाख ७३ हजार ५ सय ९१ भारु (१० लाख ७४ हजार ४ सय ९५ रुपैयाँ)मा आइपुगेको रेनोको क्याप्चर डिजेल आरएक्सई टाइप–के ९के को बजार मूल्य ५१ लाख ६३ हजार ७ सय ४ रुपैयाँ तोकिएको छ । यो गाडी इन्स्योरेन्स फ्रेटलगायत (सीआईएफ)सहित उक्त ६ लाख ७३ हजार ५ सय ९१ भारुमा वीरगन्ज भन्सारमा आइपुगेको मूल्य हो ।

चालू आवदेखि सवारीसाधनको आयातमा इन्जिन क्षमताका आधारमा अन्तःशुल्क वृद्धि गरिएको छ । तर, यो अघिल्लो आर्थिक वर्षमै नेपालमा आयात गर्दा सवारी आयातकर्ताले वीरगन्ज भन्सारमा घोषणा गरेको मूल्य हो । गत आवमा सवारी आयात गर्दा मूल्यको ८० प्रतिशत भन्सार, ४० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लाग्ने गरेको थियो । सडक मर्मत तथा सम्भार शुल्क सवारी मूल्यको ७ प्रतिशत थियो । यो आर्थिक वर्षदेखि भने इन्जिन क्षमताको आधारमा अन्तशुल्क र सडक मर्मत दस्तुर मूल्यको ८ प्रतिशत पु-याइएको छ ।

शिव बोहरा

सवारी आयातकर्ताहरूले यसरी अनधिकृत रूपमा नाफा लिने गरेको कुरा यसअघि पनि बाहिर आएको वाणिज्य विभागका अनुगमन अधिकृत दिपकराज पोख्रेलले बताए । “सवारी आयातकर्ताहरूले मार्केटिङ, शोरुमलगायत खर्चमा २० प्रतिशतभन्दा बढी नाफा लिन पाउँदैनन्,” उनले भने, “तर, यसबाहेक अनावश्यक खर्च देखाएर पनि लागत बढाउने गरेको पाइएको छ ।”  उक्त गाडी भित्रिँदाको मूल्य १० लाख ७४ हजार ४ सय ५९ रुपैयाँको भन्सार ८० प्रतिशत, अन्तशुल्क ६० प्रतिशत, भ्याट १३ प्रतिशत र सडक मर्मत दस्तुर ७ प्रतिशत जोड्दा पनि ३७ लाख ४१ हजार ५ सय ३३ रुपैयाँमात्रै हुन्छ । ३ लाख रुपैयाँ कम्पनीको लागत (वीरगन्जबाट–काठमाडौं आयात, ब्याजलगायत) लाग्दा पनि ४० लाखभन्दा बढी लागत पर्ने देखिँदैन ।

रेनोको एउटा क्याप्चर बिक्री गर्दा एड्भान्स अटोमोबाइल प्रालिले ११ लाख रुपैयाँभन्दा बढी नाफा लिने गरेको तथ्य फेला परेको हो । यसरी ठूलो परिमाणमा नाफा लिने रेनोमात्र होइन । नेपालका सबैजसो व्यावसायिक घरानाहरू अन्य व्यवसायलाई थाँती राखेर सवारी आयातमा लाग्नुको कार नै लगानी नडुब्ने र मनग्य नाफा हुनु भएको एक व्यवसायीले बताए । “अहिले हेर्नुभयो भने नेपालका ठूला भनिएका धेरै ठूला व्यावसायीक घरानासँग कुनै न कुनै ब्रान्डको सवारीको डिलरसीप छ र नहुनेले लिन कोशिस गरिरहेका छन्,” ती व्यवसायीले भने, “प्यासेन्जर कार र मोटरसाइकलमा त्यो आकर्षण अझ धेरै छ । त्यही भएर खोसाखोस चलेको हो त्यो आगामी दिनमा पनि देखिने छ ।”

रेनो क्याप्चर पेट्रोल आरएक्सइ टाइप–एच४ केए८०२ को भन्सारमा घोषणा गरेको मूल्य ६ लाख ७० हजार ९ सय ८ भारु हो । यसको नेपाली रुपैयाँ १० लाख ७४ हजार ४ सय ५९ हुन्छ । एडभान्सले यसको बजार मूल्य ४८ लाख १४ हजार ३ हजार ४५ रुपैयाँ तोकेको छ ।
रेनोको डस्टर पेट्रोल आरएक्सइ, टाइप –एचफोरकेए८०२ को सीआइएफ सहितको मूल्य ५ लाख २५ हजार ३ सय ९८ भार घोषणा भएको छ । यसको नेपाली रुपैयाँ ८ लाख ४१ हजार ४ सय २४ रुपैयाँ ८९ पैसा हुन्छ । रेनोको नेपालका लागि आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइल प्रालिले सार्वजनिक गरेको यही मोडलको अधिकतम खुद्रा मूल्य ३७ लाख ७८ हजार ३ सय ६ रुपैयाँ तोकिएको छ । त्यस्तै डस्टर एमवाई १७ डिजेल ८९पीएस आरएक्सएस, टाइपको भन्सारमा घोषणा गरिएको मूल्य ६ लाख ४४ हजार २ सय २९ भारु हो । यसको नेपाली रुपैयाँ १० लाख ३१ हजार ७ सय ३२.७४ हुन्छ ।

त्यस्तै रेनोको ह्याचब्याक क्वीड आरएक्सटी १.० क्लाइम्बर टाइप–बी४डीएको भन्सार घोषणा गरिएको मूल्य ३ लाख ३६ हजार ३ सय ४१ भारु रहेको छ । जसको नेपाली मूल्य ५ लाख ३८ हजार ६ सय ५० रुपैयाँ हुन्छ । कम्पनीले यसको बजार मूल्य भने २४ लाख ११ हजार ६ सय ६३ रुपैयाँ तोकेको छ । क्वीड–एमटी १ एलई ३ आरएक्सटी अप्सन टाइप–बी४को वीरगन्ज भन्सारमा घोषणा गरिएको मूल्य ३ लाख १८ हजार ३ सय ४१ भारु हो । यो गाडीको बजार मूल्य २२ लाख २४ हजार ५ सय ३३ रुपैयाँ तोकिएको छ । कारोबार दैनिकबाट

प्रकाशित मिति: Sep 9, 2018

प्रतिक्रिया दिनुहोस्