Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरुले दूध दिन थालेपछि हेलम्बुबासी अचम्मित !

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका वडा नम्बर –६, इचोकको पुरानागाँउका सोनाम तामाङको गोरुले दैनिक दूध दिँदै आएको छ ।

तामाङको गोरुले दैनिक बिहान बेलुका गरेर एक मानाभन्दा बढी दूध दिइरहेको छ । अहिले गाँउलेहरु र हेर्न जानेहरुले गोेरुको दूध प्रसाद हो भन्दै खाइरहेका छन् । यो भन्दाअघि कहिँ कतै नदेखेको र नसुनेको यो घटनाले सबैलाई चकित बनाएको छ । तर गोरुधनी तामाङ भने दङ्ग परेका छन् । अहिले उहाँको घरमा गोरुले दूध दिएको हेर्न विभिन्न ठाउँबाट आउने मानिसहरुको भिडभाड नै लाग्ने गरेको छ ।

तामाङका अनुसार गएको जेठ महिनाबाट गोरुको अण्डकोश छेउमा रहेका थुनहरु बढेको हो । थुन बढेको केही समयपछि गोरुको थुनबाट दूधको थोपा खसेको थियो । त्यसपछि तामाङले दूध हो कि भनेर परीक्षण गरेपछि चारमध्ये २ वटा थुनहरुमा दूध आउने गरेको छ । तामाङका अनुसार अहिने हेर्न आउने सबैले शिवजीको वाहन भनेर पूजा गर्ने गरेका छन् ।

गोरुको दूध अन्य गाईको भन्दा फरक छैन् । रातो र कालो रङ्ग मिसिएको यो गोरु एक वर्षअघि तामाङ परिवारले किनेर ल्याएको हो । गोरुले चमत्कार नै गरेको तामाङ परिवारको भनाई रहेको छ । गोरुले दूध दिएको हेर्न पुगेका गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि गोरुले सबैलाई चकित बनाएको बताए ।

स्वास्थ्यकर्मीहरु भने हर्मोन गडबढका कारण गोरुको दूध आएको हुनसक्ने बताँउदै आएका छन् । हेलम्बु पशु सेवा कार्यालयका प्रमुख टोपबहादुर बराल भने हर्मोनको कारण यस्तो हुनसक्ने भए पनि ठ्याक्कै यही नै हो भन्ने स्थिति नभएको बताउँछन् ।

गोरुले दूध दिनु विज्ञानसम्वत नभएको वरिष्ठ पशु चिकित्सक डाः शरदसिंह यादवले बताए । यस्तो घटना हालसम्म आफूलाई थाहा नभएको र गोरुले दूध दिनु अनुसन्धानको विषय बनेको उनको भनाई छ । यसको बारेमा विस्तृत रुपमा अध्ययन र अनुसन्धान गरेपछि मात्र यही हो भन्न सकिने उनको भनाई छ । उज्यालोबाट

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्