Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ वटै स्थानीय तह पहिरोको उच्च जोखिममा

नुवाकोट :  जिल्लाका १२ वटै स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । विभिन्न विपद्मध्ये पहिरोका कारण हुने विपद्को घटनाबाट नुवाकोटका सबै स्थानीय तह उच्च जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ मा जिल्लामा पहिरोको जोखिम उच्च रहेको उल्लेख गरिएको हो । दुई नगरपालिका र १० गाउँपालिकामा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा पहिरो पहिलो स्थानमा रहेको छ ।
जिल्लामा सबै स्थानीय तहमा अध्ययन गर्दा पहिरोको समस्या उच्च रहेको देखिएको अध्ययनमा संलग्न इञ्जिनीयर रामकृष्ण राजभण्डारीले बताए । पहिरोपछिको विपद्मा बाढी रहेको छ । बाढीको जोखिम पनि जिल्लामा धेरै रहेको केही वर्षका घटनाले देखाइरहेको छ ।

प्रतिवेदनमा जनावरको आतङ्क, आगलागी, सडक दुर्घटना, हुरीबतास, चट्याङलगायतका विपद्का जोखिम रहेको उल्लेख गरिएको छ । स्थलगत अध्ययन, विगतमा भएको विपद्का घटना र जिल्ला प्रशासन कार्यालयमा आएका विपद्को घटनाका निवेदनको आधारमा नुवाकोटमा पहिरोको जोखिम धेरै रहेको देखिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक उद्धवबहादुर थापाले बताए ।

‘‘विपदहरुमा पहिरोको जोखिम बढी भनेर अन्य विपद्लाई बेवास्ता गर्नु हुँदैन । सबैखाले विपद्को जोखिमलाई न्यूनीकरण गर्न ध्यान दिनुपर्छ’’ उनले भने । विभिन्न सङ्घसंस्थाको सहयोगमा निर्माण गरिएको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ले जिल्लामा विपद् जोखिम न्यूनीकरण गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पहिरोले बढेर गएमा जिल्ल्लामा चार हजार २०० घरपरिवार प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । तत्काल ४५० घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए । पहिरोको कारण विपद् आएमा तत्काल उद्धार र राहतको लागि रु एक करोड ३४ लाख रकम आवश्यक पर्ने ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ मा जनाइएको छ ।

पहिरोको कारण आफ्नो गाउँपालिकामा १३० घर जोखिममा परेको जिल्लाको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए । जिल्लामा पहिरोको समस्या धेरै बढ्न थालेकाले यसको नियन्त्रणको लागि दीर्घकालीन योजना निर्माण गरी सबै स्थानीय तहले काम गर्नुपर्ने उनले बताए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार साउन महिनायता मात्र जिल्लामा पहिरो र बाढीको कारण करोडौंको क्षति भएको छ । पहिरोको एक जनाको मृत्यु भएको छ, भने पहिरो र बाढीका कारण २१ घरमा क्षति भएको छ ।

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्