Logo
१३ बैशाख २०८१, बिहीबार
(August 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीमाथि नै प्रश्न उठाउँदै आन्दोलन उग्र बनेपछि कञ्चनपुरमा कर्फ्यू आदेश जारी

कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको छ । आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरिएको हो । यसअघि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा ४ जना घाइते भएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की बालिका पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको आन्दोलनका क्रममा गोली चलेको हो । बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो । प्रहरीको गोली लागेर ४ जना घाइते भएको जनाइएको छ ।

घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् छन्। घाइते ४ जना मध्ये भट्टको अवस्था गम्भीर रहेको बताइएको छ । पन्तको बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

तर, स्थानीयले उनी मानसिक रोगी भएको र वास्तविक हत्याराको बचाउमा प्रहरीले गलत व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलन जारी राखेका छन् । स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपार्दै टायर बालेर सवारी आवगमन समेत ठप्प पारेका छन् ।

प्रकाशित मिति: Aug 23, 2018

प्रतिक्रिया दिनुहोस्