Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत वस्ती विकासको योजना स्वीकृत गर्ने पुनर्निर्माण प्राधिकरणको निर्णय

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र रामेछाप जिल्ला गरी पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ, जसमा ४० घरधुरी रहनेछन् ।

बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १२ मा नम्डोललिङ एकीकृत बस्ती विकासको योजनालाई स्वीकृत गरेको छ । सो बस्तीमा ७० घरधुरी रहनेछन् । सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका वडा नं ५ त्याङथली एकीकृत नमूना बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ, जसमा १० घरधुरी रहनेछन् ।

यस्तै बैठकले रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं ८ माझी बस्ती गाइखुरा एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ । सो बस्तीमा २४ घरधुरी रहनेछन् । बैठकले काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० स्थित तीनधारामा होमस्टेसहितको नमुना तामाङ बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ, जसमा ३७ घरधुरी रहनेछन् ।

बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रहेका केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरुको लागि कर्मचारी दरबन्दी स्वीकृत गरेको छ, जसमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का लागि ४६३, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का लागि इन्जिनियर सहित ३२५० र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का लागि ७०४ छन् ।

बैठकले गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्नयोग्य घर जनिएका व्यक्तिहरुको सूची सो बमोजिम घर भए/नभएको सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: Aug 22, 2018

प्रतिक्रिया दिनुहोस्