Logo
७ बैशाख २०८१, शुक्रबार
(August 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नैपाली रुपैयाँ इतिहासकै कमजोर, एक डलरका लागि ११२ रुपैयाँ तिर्नु पर्ने

काठमाडौं : टर्कीमा उत्पन्न सङ्कटका कारण अमेरिकी डलर बलियो बनेपछि यसको प्रभाव नेपाली रुपैयाँमा देखिएको छ । अमेरिकी डलरका अगाडि नेपाली रुपैयाँ यति कमजोर बनेको यो अहिलेसम्मकै पहिलो रेकर्ड हो ।

नेपाल राष्ट्र बैङ्ककाअनुसार शुक्रवारका लागि एक अमेरिकी डलरको खरीद दर १ सय ११ रुपैयाँ ९५ पैसा र विक्री दर १ सय १२ रुपैयाँ ५५ पैसा पुगेको छ । यति बेला विदेशबाट नेपाल पैसा पठाउनेहरुका लागि सर्वाधिक फाईदाको समय छ भने नेपालमा डलरमा सामान आयात गर्नेहरुका लागि भने उच्चदरको घाटाको समय रहेको छ ।

उता, नेपाली रुपैयाँ निर्भर रहेको भारतीय रुपयाको भाउ घट्ने क्रमका कारण नेपाली रुपैयाँ पनि कमजोर बनेको हो । टर्की सङ्कटका कारण डलर सूचक बलियो बनेपछि यसको प्रभाव भारुमा देखिएको हो ।

बिहीवार भारतीय घरेलु बजार खुल्दाखेरी नै एक अमेरिकी डलर बराबर ७० रुपया १९ पैसा कायम भएको थियो । उक्त दिन डलर भारु विनिमय दर अधिकतम् ७० रुपया ४० पैसासम्म आयो ।

यो अहिलेसम्मकै उच्च हो ।

‘टर्की सङ्कटबारे छाएको अनिश्चय र सुदृढ डलर सूचकलाई दृष्टिगत गरेर आयातकर्ताहरुले आक्रामक रुपमा डलर किनिरहेका छन्,’ रुपया कमजोर हुनुको कारण खुलाउँदै आनन्द राठी शेयर्स एण्ड स्टक ब्रोकर्सका अनुसन्धान विश्लेषक रुशभ मरुले भने । आरबीआईले छानीछानी बजारमा हस्तक्षेप गरिरहेकोले केन्द्रीय बैङ्कको आक्रामक हस्तक्षेप नहुँदा भारु थप कमजोर बनिरहेको उनको भनाइ छ ।

विकशित देशहरुले पनि मौद्रिक प्रोत्साहन नीति विस्तारै खुकुलो बनाउँदै लगेकोले बजारमा तरलता अभाव हुने भय सृजना भएको छ र उदीयमान बजारका मुद्राको भाउमा अस्थीरता देखिएको एचडीएफसी सेक्युरिटिजका रिटेल रिसर्च विभागका प्रमुख दिपक जसानीले बताए ।

सोमवार प्रति डलर ७ दशमलव २४ को कीर्तिमानी स्तरमा ओर्लिएको टर्किश लिराको भाउमा अहिले भने सुधार आएको छ । कतारका लगानीकर्ता शेख तमिम बिन हमाद अल थानीले टर्कीमा १५ अर्ब डलर प्रत्यक्ष लगानी गर्ने प्रतिबद्धता ब्यक्त गरेको खबर सार्वजनिक भएपछि बिहीवार लिराको भाउमा थोरै सुधार आएको थियो । बिहीवार डलरको तुलनामा लिराको भाउ साढे २ प्रतिशतले बढेर ५ दशमलव ८ कायम भएको थियो । लिराको भाउमा सुधार आएपछि अमेरिका–टर्कीबीचको बढ्दो टकरावका कारण उदीयमान बजारका मुद्रा भने घट्ने क्रम जारी छ ।

शेयर बजार राताम्मे

यसैबीच बिहीवार एशिया क्षेत्रमा अधिकांश शेयर बजार रातोमा आएको छ । टर्कीको मुद्रा सङ्कट र विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्र सुस्ताएको चिन्ताका कारण लगानीकर्ताले लगानी थाँती राख्दा बजार प्रभावित बनेको हो ।

बिहीवार बजार बन्द हुँदा जापान, सिङ्गापुर, हङकङ, ताइवान, दक्षिण कोरिया, इण्डोनेशिया, चीन, भारत लगायत एशिया क्षेत्रका सबै बजार रातोमा आएका थिए । यूरोपमा भने बजार हरियोमा थियो ।

सुन र तेलको भाउ बढ्यो

बिहानी करोबारमा ओरालो लागेको बहुमूल्य धातु सुनको भाउ मध्यान्न पछि भने उकालो लागेको थियो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ ६ बजे स्पट गोल्डको भाउ प्रतिऔसत शून्य दशमलव १९ प्रतिशतले बढेर १ हजार १ सय ७९ डलर ६३ सेन्ट कायम भएको थियो । उता, तेल बजार पनि हरियोमै थियो ।

लण्डनमा ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ५९ प्रतिशतले बढेर प्रतिब्यारेल ७० डलर ९० सेण्टमा पुगेको थियो । न्यूयोर्कमा पनि अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको भाउ शून्य दशमलव ४९ प्रतिशतको वृद्धिसहित ६५ डलर १८ सेन्टमा पुगेको थियो । एजेन्सीहरु

प्रकाशित मिति: Aug 17, 2018

प्रतिक्रिया दिनुहोस्