Logo
१३ बैशाख २०८१, बिहीबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालीगण्डकी नदीले कक्षाकोठा बगाएपछि पठनपाठनमा समस्या

म्याग्दी : कालीगण्डकीले कक्षाकोठा बगाएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

बुधबार बिहान कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर विद्यालयको ६ कोठे भवन बगाएपछि कक्षा सञ्चालनमा समस्या भएको हो । बिहीबारदेखि शुरु हुने पहिलो त्रैमासिक परीक्षाको अवधिलाई स्थानीयवासी टेकबहादुर बोहोराले घर उपलब्ध गराएका छन् ।

नियमित पठनपाठन र प्रशासनिक कामका लागि भवनको अभावले समस्या बनाएको प्रअ शान्ति राम्जालीले बताए। “विद्यालयका कागजात, फर्निचर सबै भवनसँगै कालीगण्डकीले बगायो, तत्काल अस्थायी र दीर्घकालीन रुपमा स्थायी भवनको आवश्यकता परेको छ,” प्रअ राम्जालीले भने ।

कक्षा ३ सम्मको पठनपाठन हुने विद्यालयमा बालशिक्षासहित करीब २० बालबालिका पढछन् । बोहोराले उपलब्ध गराएको घरको कोठामा पाल र म्याट्रेस बिछ्याएर परीक्षा सञ्चालनको तयारी भएको छ । कोप्चेपानीदेखि केही माथिको भालेबासमा विद्यालय स्थानान्तरणका लागि जग्गाको खोजी शुरु गरिएको प्रअ राम्जालीले जानकारी दिए ।

बाढीले भवन बगाउँदा रु २५ लाख बराबरको क्षति पुगेको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताउनुभयो । बेनी–जोमसोम सडक विस्तारका क्रममा निस्किएको माटो र गेगर सिधै कालीगण्डकीमा फालिदा नदीमा बाढीको सतह बढेर कटान गरेको बताइएको छ । विद्यालय परिसरको आमा समूह भवन पनि बगाएको छ ।

खड्का समुदायको कुल मन्दिर जोखिममा परेको छ । कोप्चेपानीदेखि काभ्रे गाउँमा विद्युत् लैजान गाडिएका पोल र तारसमेत कालीगण्डकीले कटान गरेर बगाएपछि विद्युत् आपूर्ति बन्द भएको छ । (रासस)

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्