Logo
७ बैशाख २०८१, शुक्रबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिद्रोही माओवादी नेताहरु विप्लव र किराँतीबीच एकताको तयारी

काठमाडौँ : राजनीतिक बिद्रोहमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र गोपाल किराँती नेतृत्वको पुनर्गठित नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको गृहकार्य शुरु भएको छ । दुबैपार्टीका नेताहरुले एकताका लागि विभिन्न चरणमा संवादसमेत गरेका छन् । पुनर्गठित माओवादीको नेतृत्व गरेका किराँतीले एकताको लागि वार्ता भएको र निकट भविष्यमा एकता हुन सक्ने बताए ।नेता किराँतीले छिट्टै पोलिटब्यूरोको बैठक बसेर औपचारिक रुपमा एकताको पहल सुरु गर्ने बताए ।

तत्कालिन माओवादी केन्द्रले फागुन १० गते किराँतीलाई पार्टीबाट निस्काशन गरेको थियो । त्यसपछि उनी माओवादी केन्द्रलाई पुनर्गठन गर्ने अभियानमा जोडिएका थिए । एमाले र माओवादी एकताको भोलिपल्ट नेता किराँतीले प्रचण्ड नेतृत्वको पार्टीले मार्क्सवाद, लेनिनवाद, माओवादको विचार र बल प्रयोगको सिद्धान्तमा आधारित विचारधारा त्यागेको आरोप लगाउँदै औपचारिक हिसावले माओवादी केन्द्रको पुर्नगठन सुरु गरेका थिए ।

त्यसपछि उनले क्रान्तिकारी शक्तिहरुसँग एकताको पहल थालेका थिए । यहि पहल अन्तर्गत किराँतीले क्रान्त्रिकारी माओवादीका महासचिव मोहन वैद्य किरण र विप्लवसँग संवाद अगाडि बढाएका थिए । साउन २२ गते राति विप्लव नेतृत्वको नेकपाका प्रवत्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड चन्दा असुलीको आरोपमा प्रक्राउ परेपछि सो पार्टी अहिले चर्चामा छ ।

कपिलवस्तुस्थित निवासमा प्रहरीले वारेण्ट पूर्जी टाँसेपछि उनी भूमिगत छन् । तर पनि एकीकृत जनक्रान्तिको कार्यदिशा लिएको विप्लव नेतृत्को नेकपा र समाजवादी क्रान्तिको कार्यदिशा लिएको पुनर्गठित माओवादी केन्द्रबीच एकताको गृहकार्य भएको हो । यसअघि पनि आफूलाई क्रान्तिकारी दाबी गर्ने विभिन्न धारका माओवादीबीच पार्टी एकताको पहल भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन । एमाले माओवादी एकतापछि वैद्य, विप्लव र किराँतीले मूलधारको माओवादी आफूहरु भएको दावी गरेका थिए ।

प्रचण्डले माओवादीको विचार, सिद्धान्त र क्रान्तिलाई लत्याएको आरोप लगाउँदै विभिन्न कालखण्डमा बाहिरिएका यी नेताले एमाले–माओवादी एकतामाथि पनि कठोर आलोचना गरेका थिए । र, उनीहरूले प्रचण्ड नेतृत्वको माओवादीलाई लगाएको आरोप मिल्दाजुल्दा थिए । विप्लवले विज्ञप्ति जारी गर्दै एमाले र माओवादीबीचको एकतालाई ‘क्रान्तिका भगौडा र नाम कटुवा कम्युनिस्टहरूको गठजोड’ भनेर टिप्पणी गरेका थिए ।

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्