Logo
१३ बैशाख २०८१, बिहीबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोका कारण मनाङ सडक तीन ठाउँमा अवरुद्ध भएपछि यात्रुहरू समस्यामा

मनाङ : हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन् ।

मनाङको ङिस्याङ–१ पिसाङ, चामेको कोतो र तिमाङ खोलामा सडक अवरुद्ध भएको हो । ङिस्याङ गाउँपालिका अन्तर्गत पिसाङ खोलामा आएको बाढीले पुल भत्काएपछि सडक अवरुद्ध बनेको हो । सवारी आवागमनको लागि बनाइएको काठको पुल अड्याउने पर्खाल खोलामा आएको बाढीले भत्काएपछि पुल नै कोल्टिएको हो । पुल कोल्टिएपछि सवारी आवागमन बन्द गरी मर्मत थालिएको ङिस्याङ–१ का वडाध्यक्ष भुुजुङ गुरुङले जानकारी दिए ।

यस्तै चामे गाउँपालिकाअन्तर्गत कोतो भन्ने स्थानमा पनि पहिरोले सडक भास्सिएपछि सवारी आवागमन बन्द भएको छ । सडक भास्सिने र पहिरो झर्ने क्रम नरोकिएकाले अझै केही दिन सडक बन्द रहने मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले जानकारी दिए ।

यसैगरी चामे गाउँपालिकाअन्तर्गतकै तिमाङ खोलामा आएको बाढीले पनि सडक अवरुद्ध भएको छ । मोटरेबल पुलको व्यवस्था नरहेको तिमाङखोलामा पानीको बहाव बढेपछि सवारी आवातजावत बन्द भएको हो ।

जिल्लाकै तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रु निकै समस्यामा परेका छन् । माथिल्लो मनाङसम्म पुग्ने यात्रु तीन तीनवटा सवारी फेर्न बाध्य छन् । तिमाङभन्दा तल केही सवारी पाइए पनि माथिल्लो मनाङमा भने सवारी साधन पाउन मुश्किल भएको छ । सडक अवरुद्धका कारण सामान ढुवानी रोकिँदा मनाङका व्यवसायी थप समस्यामा परेका छन् ।

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्