Logo
१५ चैत्र २०८०, बिहीबार
(August 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विधान संशोधन गर्दै एन्फाको विभिन्न नियमावली पारित

चितवन : अखिल नेपाल फुटबल संघ (एन्फा) को १७ औं विशेष साधारणसभाले विधान संशोधनका साथै विभिन्न नियमावली पारित गरेको छ ।  चितवनको सौराहामा बुधबार सम्पन्न १७ औं विशेष साधारणसभाले विधान संशोधन गर्दै एन्फालाई प्रादेशिक संरचनामा लैजाने निर्णय गरेको छ । विधान संशोधनको एजेण्डा सर्वसम्मतले पारित भएको एन्फाले जनाएको छ ।

एन्फाको इतिहासमै पहिलोपटक आर्थिक, कर्मचारी तथा कार्यसञ्चालन नियमावली बनेकोले संघ पूरै पारदर्शी हुने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । साधारणसभाको उद्घाटनमा बोल्दै शेर्पाले नेपाली फुटवलमा अव नयाँ आयाम थपिने बताए । विगत ४ वर्षदेखी ठप्प फुटवल गतिविधिलाई पुन निरन्तरता दिन लागेको उनले बताए ।

एन्फाले विधान संशोधन गर्दै बी र सी डिभिजनमा क्लबहरुको संख्याको बढाउनुको साथै निर्वाचनमा मताधिकार समेत वृद्धि गरेको छ।  १२ वटा क्लव रहेको बी डिभिजनमा अब १६ वटा क्लबले सहभागिता जनाउने भएका छन् । यस्तै सी डिभिजनमा पनि ११ वटा क्लबबाट बढाएर १८ वटा क्लव बनाईएको छ ।

ए डिभिजनमा रहेका १४ वटा क्लवलाई भने यथावत राखिएको छ । विधान संशोधन गर्दै एन्फाले १५ मताधिकार बढाएर ९२ पुगेको छ । यसअघि ७७ मताधिकार रहेको थियो । मोफसलबाट ए डिभिजनका लागि छनौट हुने ४ वटा क्लबबाट ४ मत र पाँच नयाँ जिल्लाबाट एक एक मत गरी १५ मत वृद्धि गरिएको एन्फाका प्रवक्ता किरण राईले बताए ।

विशेष साधारणसभामा ४५ जिल्ला संघ, १४ ए डिभिजन क्लब, नौ बी डिभिजन क्लब, पाँच सी डिभिजन क्लब र चार समिति (महिला, खेलाडी, प्रशिक्षक, रेफ्री) बाट ३–३ जना र एएफसीका प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब तीन सय जना प्रतिनिधि सहभागी थिए ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले सरकार खेलकुद विकासका लागि प्रतिवद्ध रहेको बताएका छन् । खेलकुदका विकासका लागि केन्द्र सरकारको मात्र भर नपरेर प्रदेशले पनि काम अघि बढाएको उनले बताए । हरेक स्थानीय तहमा एउटा खेलमैदान अनिवार्य गरिएको उनले बताए ।

प्रकाशित मिति: Aug 15, 2018

प्रतिक्रिया दिनुहोस्