Logo
१५ चैत्र २०८०, बिहीबार
(August 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनको घुईचो

बेनी : यहाँको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एक लाख २० हजारभन्दा बढी भक्तजनले पूजाअर्चना गरेका छन् ।

बेनी नगरपालिका–९ स्थित गलेश्वरधाममा भगवान शिवको विशेष पूजाअर्चना गरिन्छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार साउन महिनाको चार सोमबारका दिन भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो । साउनको अन्तिम सोमबार ३० हजारभन्दा बढी भक्तजनले गलेश्वरमा पूजा गरेको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए ।

“बर्सेनि भक्तजनको सङ्ख्या बढ्दै गएको छ,” उनले भन । शालीग्राम पाइने कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफल रहेको गलेश्वरधाममा पूजापाठ गर्न म्याग्दीसँगै बागलुङ, पर्वत, कास्कीलगायत जिल्लाबाट भक्तजन आएका थिए । साउनको तेस्रो सोमबारसम्म रु नौ लाख भेटी सङ्कलन भएको छ । गलेश्वर शिवालयको दर्शन तथा पूजापाठ गरेर १०८ शिवलिङ्गमा कालीगण्डकीको जल अर्पण गरेमा सुख, शान्ति, ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।

धार्मिक गन्थ्रमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ । कालीगण्डकी किनारमा चट्टानमाथि अवस्थित गलेश्वरको पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । विशेषगरी बिवाहित महिला पारिवारिक सुख तथा अबिबाहित महिला राम्रो बर पाइयोस भन्ने कामनासहित साउनको सोमबार शिवालयमा पुगेर पूजा गरी ब्रत बस्ने चलन छ ।

गलेश्वर मन्दिरमा साउनको सोमबार, बाला चतुर्दशी र शिवरात्रीमा विशेष मेला लाग्छ । मुक्तिनाथको प्रवेशद्वारका रूपमा रहेको गलेश्वरमा भक्तजनबाट सङ्कलन हुने भेटीलाई शिवालय क्षेत्र विकास कोषले सार्वजनिक गर्दै आएको छ । सङ्कलन भएको भेटी गलेश्वरको पूर्वाधार निर्माण र सामाजिक कार्यमा खर्च गरिँदै आएको छ । (रासस)

प्रकाशित मिति: Aug 14, 2018

प्रतिक्रिया दिनुहोस्