Logo
१३ बैशाख २०८१, बिहीबार
(August 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गढी गाउँपालिकामा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती बढेको भन्दै ‘छाया सरकार’ आन्दोलित

सुनसरी स्थित गढी गाउँपालिकामा बढेको भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती विरुद्धमा स्थानीयहरु आन्दोलित बनेका छन् । विपक्षी गठबन्धनको ‘छाया सरकार’ नाम दिइ स्थानीयहरुले गाउँपालिकाको भ्रष्टाचार अनियमितता र ढिलासुस्ती विरुद्धमा आन्दोलित भएका हुन ।

आन्दोलित स्थानीयले सोमबार गाउँपालिकाको बिभिन्न हर्कत र रवैयाहरुको सार्वजनिक गरेका हुन् । गाउँपालिकामा नातावाद, कृपावाद बढेको, कमिसन र घुसखोरीको सीमा नाघेको, कर बढाएको, कर्मचारी र जनप्रतिनीधि भ्रष्टाचार र ढिलासुस्तीमा लिप्त भएको कारण आफूहरु आन्दोलित बनेको नेकपा र संघिय समाजवादी फोरम नेपाल प्रतिपक्षी संर्घष समितिका संयोजक कुशेश्वर खेरवारले जानकारी दिए ।

पत्रकार सम्मेलन गरी खेरवारले गाउँपालिकामा आफूखुसी कर्मचारी भर्ना गरेको, योजनाहरुको स्टिमेट सार्वजनिक नगरेको र सूचना माग्दा समेत नदिएकाले भ्रष्टाचारको गन्ध देखापरेको बताए । खेरवारले राजनीतिक स्र्वाथ पूर्तीका लागि पार्टी कार्यकर्ता भर्ती केन्द्र बनाएको, बाढी पीडितहरुको राहत रकम समेत पहुँचवाला र आशेपासेलाई मात्रै बाँडेको, सूचना लुकाउने काम गरेको, उपभोक्ता समिति निर्माण गर्दा गोप्य ठाउँमा गठन गरेको, योजना अनुसारको काम नगरेकोलाई पनि भुक्तानी दिएको पत्रकार सम्मेलनमा आरोप लगाए ।

संर्घष समितिका सहसंयोजक हरिशंकार कर्णले आफूहरु आन्दोलनमा आएपछि अध्यक्ष श्रीप्रसाद यादवले प्रलोभन देखाउने काम गरेको तर सूचना दिन इन्कार गरेकाले धर्ना सम्मको कार्यक्रम तय गरेको बताए । उनले आर्थिक वर्ष २०७४÷०७५ को आयव्यय विवरण, सम्पन्न गरेका कामहरुको योजना स्टिमेट, लागत र यर्थात खर्च सहितका ९ बँदे माग सहितको ज्ञापन पत्र असार २५ गते बुझाएको र एक महिनासम्म समेत माग सुनुवाई नभएकाले पत्रकार सम्मेलन गरि धर्नासम्मको कार्यक्रम तय गरेको बताए ।

उनले आन्दोलन रोक्न अध्यक्ष यादवले प्रलोभन र बाग्रेंनिङ समेत गरेको दावी गरे । उता गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले प्रतिपक्षीहरुले विना कारण विना माग बदनाम मात्रै गर्न खोजेको प्रतिकृया दिए ।

यादवले आफूहरुले वार्ता सम्वाद गर्न चाहेको भए पनि बाहिर बाहिर मात्र हल्ला गरेर हिडेको बताए । गाउँपालिकामा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती भएको भए कहाँ कहाँ भएको देखाउन समेत प्रतिपक्षीहरुलाई चुनौती दिए । गाउँपालिकाका अधिकारीहरुले यसबारे खासै प्रतिकृया दिएका छैनन । प्रतिपक्षीहरुले विरोधका लागि विरोध मात्र गरिरहेको आरोप उनीहरुहरुको रहेको छ ।

प्रकाशित मिति: Aug 13, 2018

प्रतिक्रिया दिनुहोस्