Logo
७ बैशाख २०८१, शुक्रबार
(August 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानीको बहावसंगै महाकालीको बाढीले तटबन्ध भत्कायो,सयौं घर डुबानमा

महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि माहाकाली नगरपालिका–१ बयलबन्द क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्किन थालेको छ । आइतबार रातिदेखि त्यस क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्काउन सुरु गरेको महाकाली नगरपालिकाको १ नं. वडा कार्यालयले जनाएको छ ।नदीमा पानीको बहाव बढेपछि तारजाली बगाएर तटबन्ध भत्काउन थालेको हो । 

महाकाली नगरपालिका–१ का वडा अध्यक्ष अर्जुनदत्त भट्टले आइतबार रातिदेखि बयलबन्द क्षेत्रमा निर्माण गरिएको तटबन्धमा क्षति पुग्न थालेको बताए । उनले तटबन्ध भत्किए माहाकाली नगरपालिकाको १ र ३ नम्बर वडा नै खतरामा पर्ने बताए । तटबन्ध भत्किए महाकालीको भंगालो नै गाउँ पसेर ठूलो क्षति गर्न सक्ने डरले स्थानीय त्रसित छन् ।

दार्चुलास्थित धौलिगंगाको बाँध खोलेकाले कञ्चनपुरमासमेत महाकालीमा पानीको बहाव धेरै हुने देखिएको छ । पहाडको पानी यहाँसम्म आइपुग्न समय लाग्ने हुँदा अहिलेसम्म पानीको बहाव बढिसकेको छैन ।

जापानी सहयोग नियोग (जाइका) ले २ दशकअघि निर्माण गरेको तटबन्ध जीर्ण भएपछि २०७० सालमा आएको बाढीले बयलबन्द क्षेत्रमै तटबन्ध भत्काएर नदीको भंगालो नै गाउँ पसेर ठूलो क्षति गरेको थियो । 

त्यसपछि सोही क्षेत्रमा जनताकोे तटबन्ध कार्यक्रमले गत आर्थिक वर्षमा तटबन्धको पुनःनिर्माण गरेको थियो । तर तटबन्ध भरपर्दो र मजबुत नबनाइँदा तारजाली बगाएर भत्काउन शुरु गरेको स्थानीयले बताएका छन् ।

तारजाली बगाएर भत्काउन थालेको ठाउँमा तारजाली भर्ने काम थालिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिका र स्थानीय तारजाली भर्ने काममा जुटेका छन् । इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्र चन्दले तटबन्ध भत्काउन थालेको ठाउँमा रोकथामको काम भइरहेको बताए ।

अबिरल वर्षापछि नदी तथा खोलानालाहरुमा पानीको बहाव बढ्दा माहाकाली नगरपालिकाकै वडा नं. ८ र १० क्षेत्रका विभिन्न टोलडुबानमा परेका छन् । ती टोलका करिब एकसय घर डुबानमा परेको महाकाली नगरपालिकाले जनाएको छ ।

२०७५ साउन २८ गते १९ : ०७ मा प्रकाशित

प्रकाशित मिति: Aug 13, 2018

प्रतिक्रिया दिनुहोस्