Logo
११ बैशाख २०८१, मंगलबार
(August 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश आन्दोलनका क्रममा मुद्दा लागेकाहरुको बारेमा एकमुष्ट निर्णय गर्ने ओलीको आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश आन्दोलनका क्रममा मुद्दा लागेका तथा थुनामा रहेकाहरुको बारेमा एकमुष्ट निर्णय गर्ने राजपा नेपालका नेताहरुलाई आश्वासन दिएका छन् । ओलीलाई भेट्न आइतवार साँझ बालुवाटार पुगेका राजपा अध्यक्षमण्डलका नेताहरुलाई ओलीले यस्तो आश्वासन दिएका हुन् । 

ओलीले भने, ‘मधेससँग सम्बन्धित सबै मुद्दालाई कलेक्सन गरि त्यसमा अध्ययन गरि सरकारले एकमुष्ट निर्णय गर्नेछ ।’ कतिपयको मुद्दा गम्भीर प्रकृतिका तथा कतिपयको समान्यखालका रहेकाले सबैको बारेमा सरकारले पहिला अध्ययन गर्ने र त्यसपछि छलफल गरेर टुंगोमा पुगिने आश्वासन ओलीले दिएको राजपाका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले बताए ।

राजपा नेपालले साउन ३ गते प्रधानमन्त्री अ‍ोलीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझेपनि प्रधानमन्त्री ओलीले संविधान संशोधन र मुद्दा फिर्ता लगायतका विषयमा कुनै चासो नलिएको भन्दै असन्तुष्ट रहँदै आएको छ । 

असन्तुष्टिकै बीच साउन २३ गते बसेको राजपा अध्यक्षमण्डलको बैठकको निर्णय नेताहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । सो बैठकले प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । त्यो दिनदेखि राजपाले प्रधानमन्त्री ओलीलाई भेट्ने प्रयास गर्दै आएपनि आइतबारमात्रै सम्भव भएको हो ।

आजको भेटमा नेताहरुले रेशम चौधरीदेखि लिएर राज्यमन्त्री अभिराम शर्मालगायतका विषयमा कुरा प्रधानमन्त्रीसँग कुरा राखेका थिए । सरकारलाई विश्वासका मत दिँदा नेकपा र राजपाबीच तीन बुँदे सम्झौता भएको थियो । सो सम्झौतामा पनि संविधान संशोधन लगायतका विषय उल्लेख गरिएको भएपनि कार्यान्वयन हुन नसकेको उनीहरुले गुनासो गरेका थिए ।

मधेश आन्दोलनको क्रममा दर्जनौं आन्दोलनकारीमाथि मुद्दा लाग्नुको साथै कतिपय आन्दोलनकारी फरार छन् त कतिपय थुनामा रहेका छन् । सबैको राजनीतिक मुद्दा भएका हुनाले राजनीतिक रुपमा नै टुगों लगाउनु पर्ने उनीहरुको धारणा थियो ।

२०७५ साउन २८ गते ११ :५९ मा प्रकाशित

प्रकाशित मिति: Aug 13, 2018

प्रतिक्रिया दिनुहोस्