Logo
११ बैशाख २०८१, मंगलबार
(August 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डको साता व्यापी भारत र चीन भ्रमणको मिति तय

काठमाडौँ, २५ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमण तय भएको छ । एमाले र माअ‍ोवादीबीच एकतापछि प्रचण्डको यो पहिलो राजनीतिक भ्रमण हुनेछ । प्रचण्डको भ्रमण पहिला आफ्नो देशबाट गराउने विषयमा काठमाडौंस्थित भारतीय र चिनियाँ दूतावासले दौडधूप थालेका थिए । तर, प्रचण्डको पहिलो भ्रमण भारतबाट हुने तय भएको छ । स्रोतका अनुसार प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ मा साता व्यापी चीन भ्रमणका लागि बेइजिङ जानेछन् ।

भारत भ्रमणका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा छलफल गर्नेछन् । प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट गर्नेछन् । यस अघि पछिल्लो पटक दोस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले भारत र चीनको भ्रमण गरेका थिए । भारतको गोवामा भएको विमस्टेक सम्मेलनमा तत्कालीन प्रधानमन्त्रीका रुपमा सहभागी प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जीनपिङ एकै ठाँउको बसेको दूर्लभ तस्वीर सार्वजनिक भएको थियो ।

यस अघि गत जेठमा प्रचण्डले विकासका मोडलका बारेमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला कुराकानी गरेको भन्दै उनले समय लिएर विकासका एजेण्डामा कुराकानी गर्न आउन निम्तो दिएको पनि बताएका थिए । त्यसबेला नै प्रचण्डले छिट्टै आफू भारत र चीनको भ्रमणमा जाने तयारी गरेको पनि बताएका थिए । त्यसबाहेक प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकासका मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको जानकारी दिएका थिए ।

साउन दोस्रो साता नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले प्रचण्डसँग भेटवार्ता गरि चीन भ्रमणको निमन्त्रण दिएका थिए । प्रचण्डले प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५ देखि १० गतेसम्म चीन भ्रमण गरेका थिए । चीन भ्रमणले दुई देशबीच पारवहन, बहुआयामिक सम्पर्क संजाल विस्तार, ऊर्जा पूर्वाधार विकास, रसुवा मितेरी पुल निर्माण, लगानी तथा उत्पादनको क्षेत्रमा नेपालमा लगानी बढाउने बारे भएका सम्झौताहरूले दीर्घकालीन आर्थिक सहयोगको खाका तयार गरेको सरकारको भनाई छ ।

प्रकाशित मिति: Aug 10, 2018

प्रतिक्रिया दिनुहोस्