Logo
११ बैशाख २०८१, मंगलबार
(August 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत र चीन जस्तै बंगलादेशसंग पनि ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ : नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।समझदारीमा नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल–बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने जस्ता विषय समावेश छन् ।  समझदारीपत्रमा नेपालका तर्फबाट उर्जा मन्त्री बर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद शुक्रबार हस्ताक्षर गरेका हुन् ।

उर्जा समाझदारीमा हस्ताक्षर गर्ने बंगलादेश तेस्रो मुलुक हो । यसअघि भारत र चीनले पनि यस्तै उर्जा सहकार्य सम्बन्धी सम्झौताहरु भइसकेको छ । विद्युत्को उच्च माग भएपछि बंगलादेश पछिल्ला वर्षमा विद्युत् आपूर्तिको विकल्प खोज्दै छ । बंगलादेशले विद्युत् भित्र्याउन भुटानमा पनि जलविद्युत् आयोजना निर्माणमा लगानी गरेको छ । नेपालमा आगामी केही वर्षभित्र उत्पादित विद्युत् बढी हुने अनुमान छ । स्वदेशी लगानीमा निर्मित ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाले उत्पादन थालेपछि मागभन्दा आपूर्ति धेरै हुने अनुमान गरिएको छ । 

नेपालमा खपत भएर बाँकी भएको विद्युत् बंगलादेश निर्यात गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो । बंगलादेश पक्ष र ऊर्जा मन्त्रालयबीच नेपालमा बंगलादेशले लगानी गर्न सक्ने सम्भावित जलविद्युत् आयोजनाको विषयमा पनि छलफल हुँदै आएको छ । नेपालका लागि बंगलादेशी राजदूत मासफी विन्टे सामले नेपालमा जलविद्युत् क्षेत्रमा लगानीका लागि बंगलादेश तयार रहेको बताउँदै आएकी छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच पनि ऊर्जा सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो । यो सम्झौता अनुसारअनुसार नेपाल र चीनबीच पनि सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र रहेका छन् । प्रधानमन्त्री ओलीले असार पहिलो साता चीन भ्रमण गरेका थिए । यसअघि नेपाल–भारतबीच यस्तो सहकार्य हुँदै आएको छ । नेपाल र भारतका ऊर्जा सचिव र सहसचिवस्तरीय संयुक्त संयन्त्रले दुई देशको ऊर्जासम्बन्धी मुद्दा छलफल गर्दै आएको छ । नेपाल र बंगलादेशबीच सहकार्य समझदारीमा हस्ताक्षर गर्ने गरी लामो समयदेखि तयारी भइरहेको थियो । नेपाल र बंगलादेशबीच यसबारे पटकपटक छलफल हुँदै आएको थियो । 

बंगलादेशले आफूलाई अपुग विद्युत् भारतसँग पनि खरिद गर्दै आएको छ । भारतसँग बंगलादेशले ६ सय मेगावाट बढी विद्युत् खरिद गर्दै आएको छ । बंगलादेशले भारतीय विद्युत् व्यापार निगमसँग भारतीय कम्पनीले नेपालमा निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । भारतीय कम्पनी जीएमआरले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणको जिम्मा पाएको छ । समझदारीअनुसार माथिल्लो कर्णालीबाट उत्पादित ३ सयदेखि ५ सय मेगावाटसम्म विद्युत् बंगलादेशले खरिद गर्नेछ ।

सन् २०१६ को अक्टोबरमा बंगलादेशको राजधानी ढाकामा भएको दक्षिण एसिया आर्थिक सम्मेलनको क्रममा नेपाल र बंगलादेशबीच ऊर्जा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा बंगलादेशले नेपालमा करिब १ हजार ६ सय मेगावाट क्षमता बराबरका दुई आयोजना निर्माण गर्ने उल्लेख थियो । बंगलादेशले निर्माण गर्ने गरी १ हजार १ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो आयोजना प्रस्ताव गरिएको थियो । दुवै आयोजना बंगलादेशले निर्माण गरी उत्पादित विद्युत् बंगलादेश लैजाने गरी सहमतिमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति: Aug 10, 2018

प्रतिक्रिया दिनुहोस्