Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुरमा इन्काउन्टर भएकै हो, प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न : गृहमन्त्री

चितवन, २५ साउन : गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका छन् । उनले फेक इन्काउन्टर हल्ला मात्र भएको समेत बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गरे ।

फेक इन्काउन्टर भएको चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘सरकारले याफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेका छन् ।’ ‘२४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ । मुल कुरा त्यो हो’, उनले अघि भने ।

गृहमन्त्री बादलले समयमै काम नगर्ने ठेकदारहरुलाई सरकारले सचेत गराएको बताए । सरकारको कदमबाट ठेकदारहरुले समयमा नै काम सक्ने गरी काम गर्ने तदारुकता देखाउन थालेको उनले बताए ।

एक अर्को प्रसङ्गमा उनले नेकपा विप्लव समूहका प्रवक्ता प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको स्पष्टिकरण दिएका छन् । नेकपाका नेता समेत रहेका गृहमन्त्री बादलले भने, ‘प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए । चन्दा आतंक मच्चाएकाले पक्राउ गरिएको हो ।’ 

प्रकाण्ड अपराधी हुन् भन्ने प्रश्नमा उनले भने, ‘जसले कानुनलाई उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौं ।’ बादल गृहमन्त्री हुँदा प्रकाण्डको हातमा हथकडी लाग्यो भन्ने टिप्पणीहरु भइरहेको छ नि भन्ने प्रश्नमा गृहमन्त्री बादलले भने, ‘बादल गृहमन्त्री हो, गृहमन्त्रीको काम कानुनको कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो । अपराधीलाई नियन्त्रण लिने क्रममा यस्ता घटना हुन्छन् ।’ 

नेकपा विल्लव लगायतसँग राजनीतिक सम्वाद पनि गर्ने र प्रशासनिक रुपमा नियन्त्रण गर्ने नीति लिएको उनले बताए । राजनीतिक रुपमा समाधान खोज्न सरकारले सम्वादमा आउन आहृवान गरेको गृहमन्त्री बादलले बताए ।

प्रकाशित मिति: Aug 10, 2018

प्रतिक्रिया दिनुहोस्