Logo
१३ बैशाख २०८१, बिहीबार
(August 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानूनहरुको संगालो सार्वजनिक : बाटोको नाम ‘प्रचण्डपथ’

कलैया, २० साउन  : नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई असफल पार्ने र नेकपाको एकता भाँड्नका लागि देशीविदेशी शक्ति लागिपरेको आरोप लगाउनुभएको छ । विश्रामपुर गाउँसभाद्वारा पारित ऐन कानूनहरुको संगालोको सार्वजनिकीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको एकता नेपाली काँग्रेसलाई अपच भएको बताउनुभयो ।

विश्रामपुर गाउँपालिकालाई एक नमूना गाउँपालिकाका रुपमा विकास गर्नका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता पूर्वप्रधानमन्त्री दाहालले ब्यक्त गर्नुभयो । एक अर्को प्रसंगमा उहाँले निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि चाँडै शुरुआत हुने जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष अमिरीलाल पालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अच्युत मैनाली, प्रदेश सदस्य ज्वालाकुमारी साह, महमद समिर र सुन्दर विश्वकर्मा, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललगायतले आआफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

यसैबीच अध्यक्ष दाहालले कलैया उपमहानगरपालिका वडा नं २३ अन्तर्गतको मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको बाटालाई कालोपत्रे गर्नका लागि शिलान्यास गर्नुभएको छ । शहरी विकास मन्त्रालयको सहयोगमा सो सडक कालोपत्रे हुनेछ । सडकको नाम प्रचण्डपथ रहनेछ । करीब ९ किलोमिटरको सो सडक निर्माणका लागि रु ४८ करोड ९३ लाख ३८ हजार लाग्ने भएको छ । सडकको चौडाइ नाला दुवैतिर छाडी ३० फिट रहने जनाइएको छ ।

प्रकाशित मिति: Aug 5, 2018

प्रतिक्रिया दिनुहोस्